Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

लघुवित्तले यसरी गर्छ ‘गरिबी न्युनिकरण’

२०७५ जेष्ठ २१ गते

रेखा चन्द/बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थाहरुले गरिबी न्युनिकरणमा ठूलो सहयोग पुर्याइरहेका छन् । माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका उपाध्यक्ष प्रकाशराज शर्माले गरिबी न्युनिकरणमा लघुवित्त क्षेत्रको अतुलनीय योगदान रहेको बताए । उनका अनुसार, लघुवित्तले रोजगारी सिर्जना गरेर अथवा सर्वसाधारणलाई स्वरोजगार बनाएर जीवस्तर उकास्नमा मद्दत पुर्याइरहेको छ । 

रोजगारी सिर्जना गरेर
माघसम्मको तथ्यांकअनुसार, लघुवित्तहरुको कुल शाखा संख्या मुलुकभर २१७५ पुगिसकेको छ । लघुवित्त वित्तीय संस्थाहरुले अहिले आफ्ना शाखा तथा उपशाखाहरु बढाउन पहल गरिरहेका छन् । लघुवित्त संस्थाहरु नै थपिएर ६३ बाट १०८ वटा पुग्दैछन् । यी सबै शाखाहरुमा गरेर हजारौँले रोजगारी पाइरहेका छन् । यस क्षेत्रमा अझै संख्यात्मक वृद्धि हुने क्रम जारी रहेको हुँदा आगामी दिनमा पनि थप रोजगारी सिर्जना हुँदै जानेछन् । यसरी, सर्वसाधारणहरुलाई रोजगारी दिएर लघुवित्तहरुले कैयौँ नेपालीको जीवनस्तर उकास्न योगदान पुर्याइरहेका छन् ।

स्वरोजगारी सिर्जना गरेर
लघुवित्तहरुले उद्यमशीलता र स्वरोजगारीलाई प्रवद्र्धन गर्दै आएका छन् । यस्ता संस्थाहरुले कुनै पनि व्यवसाय वा उद्यम गर्न चाहनेहरुका लागि कर्जाका साथै आवश्यक तालिम समेत प्रदान गरेर थुप्रै व्यक्तिलाई उद्यमी बनाइरहेका छन् । यसरी उद्यम गरेर धेरै सर्वसाधारणहरु राम्रो आम्दानी गर्न सक्ने भएका छन् । 

सम्पती सृजना गरेर
कतिपय गरिबी पैसाले मात्र हुँदैनन् । पैसा भनेको आर्जन गर्ने कुरा हो । आफूसँग भएको सम्पत्तिको सदुपयोग गरेर आम्दानी गर्न सकिन्छ । उदाहरणका लागि कसैसँग एउटा भैँसि छ, भैँसिले दुध दिन्छ र त्यसबाट आम्दानी भएन भने अर्को भैँसी किनेर पाल्यो भने आम्दानी हुन्छ र सम्पत्ति सृजना हुन्छ । भैँसी वा गोठ भनेका सम्पत्ति हुन्, जसलाई आम्दानीका लागि प्रयोग गर्न सकिन्छ । यस्ता खाले सोचको विकास गर्न र यस्तो सोच भएकाहरुका लागि कर्जाको रुपमा वित्तीय स्रोत उपलब्ध गराउने काममा लघुवित्तहरुको योगदान रहेको हुन्छ ।

गरिबीको दलदलबाट बाहिर ल्याएर
गरिबीको दलदलमा फस्ने वर्ग सँधैभरि जोखिममा हुन्छ, कहिलेकाँही अप्रत्यासित घटनाहरु भईदिन्छन् (जस्तैः प्राकृतिक प्रकोप, बिरामी आदि ।) यस्तो जोखम आइपरेको अवस्था लघुवित्तले उक्त वर्गलाई लघुबीमाको माध्यमबाट सहयोग गर्छ । लघुबीमाको रुपमा सर्वसाधारण गरेको ससानो बचतले उनीहरुलाई जोखिमबाट माथि उठ्न मद्दत गर्दछ । 

सामाजिक पुँजी निर्माण गर्छ
लघुवित्तहरुको सबैभन्दा महत्वपुर्ण कार्य गरिबहरुमा सामाजिक पुँजी निर्माण गर्नुुुु हो  । उदाहरणका लागि, म पनि केही हुँ, मैले पनि कर्जा पाउँछु, मैले पनि केही गर्छु भन्ने मानिसलाई व्यवसायको लागि प्रोत्साहन गरी व्यवसायीलाई कर्जा उपलब्ध गराएर लघुवित्तहरुले सामाजिक पुँजी निर्माण गरेको हुन्छ । 

महिला सशक्तिकरण
लघुवित्त वित्तीय संस्थाका ग्राहक भनेका महिलाहरु हुन् । उनीहरुको सशक्तिकरण गरी घरको चुलोचौकोको सीमाबाट माथि उठाएर उद्यमी बनाउने काममा लघुवित्तको ठूलो भूमिका छ । महिलाहरुले समूहमा विनाधितो ऋण लिएर उक्त ऋणको सदुपयोगबाट आफ्नो र समग्र परिवारको नै जीवनस्तर उकासेका उदाहरणहरु छन् ।