राम खत्री/बैंकिङ खबर । धनगढी चौराहास्थित सिद्धार्थ बैंकबाट पैसा झिकेर जादै गरेको एक जना व्यापारीलाई मोटरसाईकलमा आएका दुई जना व्यक्तिले गोली हानेर लुटेका छन् । धनगढी चौराहामा आईएमई सञ्चालन गर्दै आएका ३२ वर्षिय निर्मल कुमार कार्कीलाई अज्ञात व्यक्तिहरुले गोली हानी लुटेका हुन् ।
बिहान १० बजे बैंकबाट पैसा झिकेर निस्के लगत्तै कार्कीलाई गोली हानी उनीसंग रहेको साढे नौ लाख रुपैया लुटिएको प्रहरीले जनाएको छ । बैंकबाट साईकलमा निस्केका केही मिनेटमै कार्कीलाई पिछा गरिरहेका उनीहरुले क्रिष्टल होटल अगाडि गोली प्रहार गरी उनको साथमा रहेको पैसाको झोला लुटेर लगेको प्रहरीले जनाएको छ । घाईते कार्कीको पाखुरामा गोली लागेको छ । उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको छ । गोली प्रहार गर्ने व्यक्तिहरुले लु ४० प ४४३८ नम्बरको अपाचे प्रयोग गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
दुई जना पक्राउ
प्रहरीले लुटपाटमा संलग्न भएको आशंकामा कैलालीको धनगढी उपमहानगरपालिका—१३ गेटामा दुई जना पक्राउ समेत गरेको छ । प्रहरीले घट्ना भएको करीव आधाघण्टापछि उनीहरुलाई चेकजाँचका क्रममा गेटाबाट पक्राउ गरिएको हो । प्रहरीले दुबैजनामाथि अनुसन्धान भईरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले घट्नामा संलग्न भएको आशंकामा दुई जना पक्राउ गरिए पनि प्रहरीले नाम भने सार्वजनिक गरेको छैन् ।
घाईतेको पाखुराबाट गोली निकालीयो
गोली प्रहारवाट घाईते भएका आईएमई सेन्टरमा कार्यरत निर्मल कार्कीको पाखुराबाट गोली निकालीएको छ । सेती अञ्चल अस्पतालका चिकित्सकहरुले सल्यक्रिया गरेर उनको पाखुरामा लागेको गोली निकालेका हुन । पाखुरामा लागेको गोली निकालीएपछि कार्कीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन । अर्थो सर्जनद्वय डाक्टर प्रमोद जोशी र डाक्टर सन्तोष पन्तले सल्यक्रिया गरेर गोली निकालेका हुन् । पाखुराको गोली निकालेपछि अब छातीको घाउका लागि सर्जनहरु डाक्टर विसनसिह बोहरा, डाक्टर मेराज आलम अन्सारी र डाक्टर शुरेन्द्र वस्नेतको टोली उपचारमा खटिएको छ।

