बैंकिङ खबर । १४ वटा वाणिज्य बैंकहरुले यूकेएड सक्षमसँगको सहकार्यमा ५७ वटा शाखा विस्तार गर्ने भएका छन् । प्रदेश नं. ५, ६ र ७ का विभिन्न गाउँपालिकाहरुमा ५७ वटा शाखा विस्तार गर्ने गरी सक्षमले १४ वटा वाणिज्य बैंकहरुसँग सम्झौता गरेको हो । विकेन्द्रीकरणको मर्मअनुरुप देशका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखाहरु पुर्याउने नेपाल सरकारको लक्ष्यलाई समर्थन गर्ने उद्देश्यले यो साझेदारी गरिएको सक्षमले जनाएको छ ।
सक्षमसँग सम्झौता भएका बैंकहरुमा कृषि विकास बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, जनता बैंक, लक्ष्मी बैंक, माछापूछ्रे बैंक, नविल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंक रहेको छन् । यीमध्ये, कृषि विकास बैंक र नविल बैंकले सबैभन्दा धेरै ७।७ वटा शाखा स्थापनाका लागि साझेदारी गरेका छन् भने माछापूच्छ्रे बैंक, एनआईसी एशिया बैंक र सानिमा बैंकले सबैभन्दा थोरै २।२ शाखा स्थापना गर्ने सम्झौता गरेका छन् ।
यी ५७ वटा शाखाहरुमार्फत देशका सबैभन्दा दुर्गम स्थानीय तहमा पनि बैंकको उपस्थितीको सुरुवात हुनेछ । ५७ मध्ये, प्रदेश नं. ५ मा आठ वटा शाखा पुग्नेछन् । त्यस्तै, प्रदेश नं. ६ मा २७ वटा र बाँकी २२ शाखा प्रदेश नं. ७ मा स्थापना हुनेछन् ।
सम्झौताअनुसार, कृषि विकास बैंकले प्रदेश नं. ७ को वैतडीस्थित सिगास गाउँपालिकामा शाखा खोल्नेछ भने प्रदेश नं. ६ मा जाजरकोटको बरेकोट गाउँपालिका, जुनिचण्डे गाउँपालिका र कुसे गाउँपालिका तथा कालिकोटको महाबाई गाउँपालिका, कालिका गाउँपालिका र नर हरिनाथ गाउँपालिकामा शाखा विस्तार गर्नेछ ।
सिटिजन्स बैंकले प्रदेश नं. ५ मा प्युठानको झिम्रुक गाउँपालिका र रुकुमको भुमे गाउँपालिका, प्रदेश नं. ६ मा हुम्लाको नाम्खा गाउँपालिका तथा प्रदेश नं. ७ मा अछामको ढकारी गाउँपालिका र कैलालीको मोह्न्याल गाउँपालिकामा शाखा स्थापना गरी संचालनमा ल्याउनेछ ।
एभरेष्ट बैंकले प्रदेश नं. ७ मा बझाङको काँडा गाउँपालिका, सुर्मा गाउँपालिका र तल्कोट गाउँपालिकामा शाखा खोल्ने जनाएको छ ।
हिमालयन बैंकले प्रदेश नं. ७ मा बाजुराको छेडेदाह गाउँपालिका, स्वामी कार्तिक गाउँपालिका र पाण्डव गुफा गाउँपालिकामा शाखा खोल्दैछ । प्रदेश नं. ६ स्थित सल्यानको कुमाखमालिका गाउँ पालिकामा पनि हिमालयनले शाखा खोल्नेछ ।
जनता बैंकले प्रदेश नं. ६ मा हुम्लाको ताजाकोट गाउँपालिका, आदनचुली गाउँपालिका र चखेली गाउँपालिका तथा प्रदेश नं. ५ मा रोल्पाको सुकिदह गाउँपालिका र दुईखोली गाउँपालिकामा शाखा विस्तार गर्ने भएको छ ।
त्यस्तै, लक्ष्मी बैंकले प्रदेश नं. ५ मा रुकुमको बाफिकोट गाउँपालिका, प्रदेश नं. ६ मा सल्यानको ढोरचौर गाउँपालिका र प्रदेश नं. ७ मा दार्चुलाको लेकाम गाउँपालिकामा शाखा खोल्नेछ ।
माछापूच्छ्रे बैंकले प्रदेश नं. ७ मा दार्चुलाको अपि हिमाल गाउँपालिका र ब्यास गाउँपालिकामा शाखा विस्तार गर्नेछ ।
नविल बैंकले प्रदेश नं. ५ मा कालिकोटको पलटा गाउँपालिका र पञ्चालझरना गाउँपालिका तथा सल्याउनको दर्मा गाउँपालिकामा शाखा पुर्याउनेछ भने प्रदेश नं. ७ मा अछामको तुर्माखाँड गाउँपालिका र रामारोशन गाउँपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका तथा डोटीको सयाल गाउँपालिकामा शाखा विस्तार गर्नेछ ।
नेपाल बैंकले प्रदेश नं. ५ मा रोल्पाको लुंग्री गाउँपालिका, प्रदेश नं. ६ मा डोल्पाको कैके गाउँपालिका र जगडुल्ला गाउँपालिका तथा प्रदेश नं. ७ मा बाजुराको त्रिवेणी गाउँपालिकामा शाखा खोल्नेछ ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकले प्रदेश नं. ५ मा प्युठानको नौबहिनी गाउँपालिका, प्रदेश नं. ६ मा जुम्लाको हिमा गाउँपालिका तथा प्रदेश नं. ७ मा दार्चुलाको दुहु गाउँपालिका र बझाङको केदार स्येउ गाउँपालिकामा शाखा खोल्ने सहमति गरेको छ ।
एनआईसी एशिया बैंकले प्रदेश नं. ५ मा दाङको राजपुरा गाउँपालिका र प्रदेश नं. ६ मा जाजरकोट को त्रिवेणी नलगाड गाउँपालिकामा शाखा खोल्नेछ ।
प्रभु बैंकले प्रदेश नं. ६ मा हुम्लाको खर्पुनाथ गाउँपालिका र डोल्पाको शे फोक्सुण्डो गाउँपालिका तथा प्रदेश नं. ७ मा डडेलधुराको नवदुर्गा गाउँपालिकामा शाखा खोल्नेछ ।
प्रदेश नं. ६मा मुगुको मुगुमकर्मारोङ गाउँपालिका र सोरु गाउँपालिका तथा डोल्पाको डाल्पो बुद्ध गाउँपालिका, मुइकेचुला गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोल्नेछ । प्रदेश नं. ७ स्थित बझाङको मास्टा गाउँपालिकामा पनि राष्ट्रिय वाणिज्य बैंकको शाखा पुग्ने भएको छ ।
सानिमा बैंकले प्रदेश नं. ६ मा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका र प्रदेश नं. ७ मा बाजुराको हिमाली गाउँपालिकामा शाखा खोल्नेछ ।


