बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले सीआस्वा प्रणालीलाई प्रभावकारी बनाउन सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको छ । बोर्डले धितोपत्रको सार्वजनिक निस्काशनमा सी–आस्वा प्रणाली लागू गरिएपनि प्रभावकारी नभएको बताएको छ । लगानीकर्ता एवं आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत सी–आस्वा सफ्टवेयर समय समयमा कनेक्टिभिटि जाने तथा सिस्टम ह्याङ हुने जस्ता समस्याले गर्दा सेवा प्रभावकारी नभएको भनी गुनासो प्राप्त भएको भन्दै बोर्डले सो सेवा प्रभावकारी बनाउन सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई परिपत्र गरेको हो । परिपत्रमार्फत बोर्डले निम्न निर्देशन दिएको छ ।
१। सी–आस्वा सेवाप्रदायक संस्थाहरुलाई प्रदान गरेको सी–आस्वा सफ्टवेयरको कनेक्टिभिटीको क्षमतामा अभिवृद्वि गरी निर्वाध रुपमा सी–आस्वा सेवा सुचारु रहने संयन्त्रको बिकास गर्ने ।
२। सी–आस्वाबाट आवेदन गर्दाको समयमा नै खातामा रहेको रकम तत्काल रोक्का हुने ब्यवस्था सहित आवेदनको सुनिश्चतताको बारेमा सेवाग्राहीलाई तत्कालै जानकारी गराउने संयन्त्रको बिकास गर्ने ।
३। सेवाग्राहीलाई सी–आस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचार प्रसार गर्ने ।
४। सी–आस्वा प्रदायक वैंक वित्तीय संस्थालाई सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थाका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गर्ने/गराउन लगाउने ।