संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले थप चार वटा जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले बाग्लुङको निसीखोला गाउँपालिका वडा नं. ४ र तमानखोला गाउँपालिका वडा नं. १ एवम् दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. २ र गुराँस गाउँपालिका वडा नं. ४ मा शाखा स्थापना गरी आइतबारदेखि संचालनमा ल्याएको हो ।
बैंकको निसीखोला शाखा, तमानखोला शाखा, भगवतीमाई शाखा र गुराँस शाखाको समुद्घाटन सम्वन्धित गाउँपालिकाका अध्यक्ष क्रमशः तारानाथ पौडेल, जोकलाल बुढा, दानबहादुर थापा र खेम राज ओलीले एक भव्य समारोहका बीच गरे ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकका निसीखोला शाखा,तमानखोला शाखा, भगवतीमाई शाखा र गुराँस शाखा कार्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी, व्यवसायी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र चारै वटा गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

