काठमाडौँको ज्ञानेश्वरमा केन्दी्रय कार्यालय रहेको टुरिजम् डेभलपमेन्ट बैंक मेगा बैंक नेपाल लिमिटेडसँग गाभिएको छ । आइतबार काठमाडौँमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिए ।
कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम् डेभलपमेन्ट बैंकका सबै ३६ वटा शाखा, एक्सटेन्सन काउन्टर, एटिएम लगायत सम्पूर्ण सञ्जाललाई मेगामा गाभेर आइतबारबाट संयुक्त कारोबार सुरु गरेको जानकारी दिए । यो मर्जरपछि मेगा परिवारमा उत्साह थपिएको अध्यक्ष शाहले बताए । उनका अनुसार टुरिजम डेभलपमेण्ट बैंकको एक कित्ता सेयर हुने शेयरधनीलाई गाभिएपछि मेगा बैंकको ०.९५ कित्ता सेयर प्रदान गर्ने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ ।
‘आज म असाध्यै खुसी छु, टुरिजमसँगको मर्जपछि मेगा बैंक चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको छ,’ मेगा बैंकका अध्यक्ष शाहले भने– ‘यसले मेगा बैंकको नेटवर्कमा मात्र वृद्धि भएको छैन्, व्यावसायिक अवसरहरुमा पनि वृद्धि गरेको छ ।’
मेगा बैंकका शाखा कार्यालयहरु अब ३२ वटा जिल्लाबाट विस्तारित भएर देशका ४९ वटा जिल्लामा पुगेको छ । अब सातवटै प्रदेशमा मेगा बैंकको प्रदेश हेडक्वार्टर स्थापना गर्ने गरी अगाडि बढिरहेको अध्यक्ष शाहले बताए । ‘हामीले विज्ञहरुसँगको परामर्श र छलफलबाट पाँच बर्षे रणनीतिक योजना तय गरेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा प्राथमिकताका साथ बैंकको मुख्य व्यावसायलाई केन्द्रित गर्छौं,’ उनले भने ।
संयुक्त मर्जर समितिका संयोजक एवं मेगा बैंक संचालक समितिका सदस्य गोपाल खनालले मर्जरपछि पुँजी, सामथ्र्य, नेटवर्क र व्यावसायिक प्रतिस्पर्धाका आधारमा मेगा बैंक देशकै उत्कृष्ट बैंक बन्ने बताए । मेगालाई अरु बैंक भन्दा पृथक बैंक बनाउन आफूहरु लागिपरेको भन्दै उनले सातवटै प्रदेशमा बैंकको नेटवर्क विस्तार गर्न सफल भएको बताए ।
मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले टुरिजमका ३६ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ९१ वटा पुगेको जानकारी दिइन् । ‘सबै स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नेपाल सरकारको नीति बमोजिम यसै आर्थिक वर्षमा थप १७ वटा शाखाहरु खोल्ने कार्य भइरहेकोमा यसै महिनामा ८ वटा शाखाहरु सञ्चालनमा आइसकेका छन् भने बाँकी शाखाहरु पनि यसै आर्थिक वर्ष भित्र खोलिने गरी कार्य अघि बढिरहेको छ । साथसाथै अन्य २ स्थानमा पनि शाखा खोल्ने तयारीमा बैंक रहेको छ । यो सबै गरेर बैंकको शाखा सञ्जाल वृहत भई १०२ कायम हुनेछ ।’– उनले भनिन् । ‘मेगामा अब बैंकिङ्गमा प्रत्यक्ष संलग्न कर्मचारीको संख्या ८८६ पुगेको छ । म समस्त नेपालीहरुलाई विश्वास दिलाउन चाहन्छु यहाँहरुको वित्तीय आवश्यकतालाई परिपूर्ति गर्न बैंकका हरेक कर्मचारी सदैव तत्पर रहनेछन । जसको मूल उद्देश्य ग्राहकवर्गहरुको वित्तीय आवश्यकता पूरा गर्नु नै हुनेछ ।’– सिइओ खुञ्जेलीले भनिन् ।
मर्जरअघि मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट बैंकको २ अर्ब १ करोड रहेको थियो । तर, शेयर आदानप्रदान अनुपात समायोजनपछि थप भएको १ अर्ब ९१ करोडको चुक्ता पुँजीसहित मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड कायम भएको छ । १० करोड रुपैँया पुँजीगत जगेडामा थप भएको छ ।
यसैगरी, मर्जरपछि बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैँया पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड रुपैँया कायम भएको छ । अब मेगा बैंक वाणिज्य बैंकहरु मध्ये निक्षेपमा २४औं र कर्जामा २२औं स्थानमा रहेको छ । यसअघि बैंकको स्थान क्रमशः २६औं र २७औं रहेको थियो ।
मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगा बैंकसँग बुटवलमा केन्द्रिय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो ।
मेगा बैंकको देशभर ९१ वटा शाखा, ७४ वटा एटीएम सञ्जाल र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । मेगाका ५८ वटा शाखारहित केन्द्रहरु सञ्चालनमा रहेका छन् भने थप ६१ वटा केन्द्रहरु स्थापना गर्ने प्रक्रियामा रहेको छ । यसैगरी, मर्जरपछि एक्सटेन्सन काउन्टरको संख्या ८ पुगेको छ भने थप १२ वटा एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रिया अघि बढाइएको छ ।


