नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई पाँच लाख रुपैयाँ जरिवाना गरेको छ । राष्ट्र बैंकले लघुवित्तका तत्कालिन प्रमुख कार्यकारी अधिकृत स्वयम्भुराज जोशीलाई नियामक निकायको निर्देशन नमानेको भन्दै जरिवाना गरेको हो ।
राष्ट्र बैंकको निर्देशन नमान्ने, निर्देशन कार्यान्वयनमा बाधा पुर्याउने, निर्धारण हदबन्दी भन्दा बढी सेयर धारण गरेको व्यक्ति नियामक निकायको निर्देशन अवज्ञा गरी पदमा बसी रहने लगायत ठहर गरी राष्ट्र बैंकले सामुदायिकका सीईओ जोशीलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार जरीवाना गरेको बताएको छ ।
यस अघि राष्ट्र बैंकले जोशीलाई ५ लाख जरिवाना नगर्नु पर्ने कारण सहित स्पष्टिकरण सोधेको थियो । जोशीले दिएको स्पष्टिकरण चित्त नबुझेपछि राष्ट्र बैंक ऐन, दोस्रो संसोधन २०७३ को दफा १०० को उपदफा (२) (ग) बमोजिम कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।


