बैंकिङ खबर । सीमित अवधिका लागि मात्रै वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गरिन्छ । बीमा अवधिसम्म बिमित (बीमा गर्ने व्यक्ति) ले बीमाशुल्क भुक्तानी गर्दछ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बीमांक रकम र बोनस प्राप्त गर्छ । तर बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन ।
नेपालमा म्यादी जीवन बीमा
नेपालमा २०६४ भदौ १९ देखि वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गर्नुपर्ने व्यवस्था सुरु भएको हो । विदेशमा जाने कामदार असुरक्षित बन्दै गएपछि सरकारले जारी गरेको वैदेशिक रोजगार ऐन २०६४ को दफा २६ मा बीमा गर्नुपर्ने व्यवस्था छ ।
म्यादी जीवनबीमा सम्बन्धी प्रावधानहरु
वैदेशिक रोजगारी (म्यादी) जीवन बीमा खरिद गरेका कामदार ६ महिनासम्ममा पनि विदेश नगए बीमालेख स्वतः रद्द हुने व्यवस्था छ ।
वैदेशिक रोजगारी (म्यादी) जीवन बीमा योजना खरिद गर्दा प्रस्ताव फारम अनिवार्य भर्नुपर्नेछ ।
कामदारले चाहेमा छ महिनाभित्रै वैदेशिक रोजगार (म्यादी) जीवन बीमा रद्दसमेत गर्न पाउनेछन् । बीमालेख रद्द गर्दा कम्पनीले पाँच सय रुपैयाँ कट्टा गरी बाँकी बीमाशुल्क फिर्ता दिनुपर्नेछ ।
बीमांक रकम कम्तीमा पाँच लाख रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँ तोकिएको छ ।
जुनसुकै समयमा जुनसुकै कारणले मृत्यु भएमा वा अंगभंग भएमा त्यसको क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ ।
रोजगारमा पठाउनुअघि इजाजतपत्रवालाले प्रत्येक कामदारको करार अवधिभर कायम रहने गरी बीमा गराउनुपर्ने व्यवस्था रहेको छ ।
वैदेशिक रोजगारमा जाने कामदारको भिसाको अवधिभन्दा थप १ वर्ष बढीको बीमालेख जारी गर्ने व्यवस्था छ ।
वैदेशिक रोजगार (म्यादी) जीवन बीमाले कामदारको स्वदेशमा समेत जोखिमको सुरक्षण गर्नेछ । बिमित कामदार स्वदेशमा रहेको अवस्थामा बीमालेख खरिद गरेको ६ महिनासम्ममा जोखिमको रक्षावरण गर्नेछ ।
सरकारले वैदेशिक रोजगार बीमामा घातक रोग पनि समावेश गरेको हो । घातक रोगअन्तर्गत क्यान्सर, मिर्गौला फेलियर, प्राइमरी पल्मोनरी आर्ट्रियल हाइपरटेन्सन, मल्टिपल स्क्लेरोसिस, महत्वपूर्ण अंग प्रत्यारोपण, कोरोनरी आर्टे्रियल बाइपास ग्राफ्ट, अयोर्टा ग्राफ्ट सर्जरी, मुुटुको भल्भ सर्जरी, स्ट्रोक, पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, प्यारालाइसिस, बेनाइन ब्रेन ट्युमर, दुर्घटनाका कारणले भएको मानसिक रोग राखिएको छ । उक्त रोग लागेको अवस्थामा कम्पनीले ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । यस्तो रोगको सुरक्षण गरेबापत कामदारले ४ सय रुपैयाँ गर्नुपर्नेछ ।
बीमा अवधिमा कामदारको मृत्यू भएमा १० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था छ । घातक रोग लागी मृत्यु नभएको तर, शारिरीक रूपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा १३ लाखसम्म भुक्तानी गरिनेछ । घातक रोग मात्रै लागेको अवस्थामा ५ लाख भुक्तानी गर्नुपर्छ । बिमितको आयको नोक्सानी बापत २ लाख, किरिया खर्चबापत १ लाख, औषधि उपचार खर्चबापत १ लाखसम्म, शव ल्याउन खर्चबापत १ लाख कम्पनीहरूले भुक्तानी गर्छन् ।




