बैंकिङ खबर । मुनाफा आर्जनमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वाणिज्य बैंकलाई पछ्याउन थालेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा निर्धन उत्थानले मुनाफा आर्जनमा एउटा वाणिज्य बैंकलाई पछाडी पारेको छ । गत आर्थिक वर्षको तुलनामा घट्दा पनि निर्धन उत्थानको नाफा ४० करोड नजिक छ । जबकी क वर्गको सिभिल बैंकको नाफा जम्मा ३५ करोड रहेको छ ।
निर्धन उत्थानले चैत्र मसान्तसम्ममा ३९ करोड ९१ लख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ७४ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा निर्धन उत्थानले ४४ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब आठ करोड २३ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा सात अर्ब ८८ करोड ८१ लाख रुपैयाँ संकलन गरी कर्जामा १४ अर्ब ७८ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ११ दशमलव ९१ प्रतिशतले बढेर ९४ करोड ६६ लाख ३० हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १७ दशमलव ३६ प्रतिशतले घटेर ९७ करोड १३ लाख ६७ हजार रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा छ करोड १४ लाख १५ हजार रुपैयाँ राखेको छ ।
बैंंकको यस त्रैमासमा प्रतिसेयर आम्दानी ५३ दशमलव २२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ८४ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय आठ दशमलव २३ रुपैयाँ र तरलता अनुपात १३ दशमलव ४६ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ८३ प्रतिशत, पूँजीकोष १२ दशमलव १३ प्रतिशत र सिडि रेसियो १८७ प्रतिशत रहेको छ ।
२०५६ सालमा औपचारिक रुपमा सुरु भएको निर्धन उत्थान बैंकको शाखा संजाल लघुवित्त वित्तीय संस्थाहरुमध्ये सबैभन्दा ठूलो रहेको छ । संस्थाले हाल ७७ वटै जिल्लाका १७९ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
बैंकले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । यस बैंकले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।


