Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

सेवा संजाल विस्तार गर्दै ‘राष्ट्रिय वाणिज्य बैंक’, एनआईडीसीसँगको एकीकृत कारोबार सुरु 

२०७५ बैशाख १९ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एनआईडिसी डेभलपमेण्ट बैंक लिमिटेडलाई गाभेर बुधबार (वैशाख १९ गते)देखि एकीकृत कारोबार सुरु गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले वित्तीय प्रणालीमा चक्रिय सङ्कट आईरहने र त्यसबाट बच्न रणनीतिक उपायहरु अपनाउनुपर्ने बताए । उनले वित्तीय प्रणालीमा हुने अपराध असह्य हुने र गलत कार्य गरेमा सरकारले कसैलाई नछोड्ने विचार व्यक्त गरे । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा एनआईडिसी डेभलपमेण्ट बैंक लिमिटेड गाभिए पछि बैंक वित्तीय रुपमा थप बलियो र प्रतिस्पर्धी हुनुपर्ने उनको भनाइ थियो ।

समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सरकारी बैंक भएकोले राष्ट्रिय वाणिज्य बैंकले अगुवा बैंकको रुपमा कार्य गर्नुपर्ने बताए । कार्यक्रमका सभापति डा.रवीन्द्र प्रसाद पाण्डेले बैंकलाई नयाँ पुस्ताको आकर्षणको केन्द्र बनाउन सक्नु प्रमुख चुनौती रहेको उल्लेख गरे । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका संचालक एवं सयुक्त सर्जर समितिका संयोजक निर्मलहरि अधिकारीले मर्जरको शुरुवातदेखि हालसम्म भएका सम्पूर्ण गतिविधिका विषयमा विस्तृत जानकारी गराए । एन.आई डि.सी. डेभलपमेन्ट बैंक संचालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले मर्जर कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

मर्जरपछि बैंकको अवस्था
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र दुई बैंक बीच मर्ज भएपछि वित्तीय क्षेत्रमा पर्ने सकारात्मक प्रभावको बारेमा आफ्नो धारणा राखे । उनले मर्जरपछि बैंकको १९१ वटा शाखा कार्यालय, चुक्ता पुँजी नौ अर्ब ४७ लाख, ९५ हजार सात सय रुपैयाँ, जगेडा तथा कोषहरु आठ अर्ब ३० करोड ५६ लाख ९९ हजार रुपैयाँ, कुल सम्पत्ति एक खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख ४६ हजार रुपैयाँ, कुल निक्षेप एक खर्ब ५४ अर्व १७ करोड ६३ लाख ४२ हजार रुपैयाँ, कर्जा तथा सापट एक खर्ब १५ अर्ब ७३ करोड नौ लाख ८७ हजार र खुद नाफा तीन अर्ब १२ करोड ६४ लाख ७९ हजार रुपैयाँ पुग्ने जानकारी दिए ।

दुबै संस्था एक आपसमा गाभिएपछि बैंक तथा वित्तीय संस्थाको संख्यामा कमी आई गुणात्मक बृद्धि हुने, बैंकको पूँजीकोष बृद्धि हुन गई बैंकले देशको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रलाई थप सकारात्मक योगदान दिँदै आगामी दिनमा सबल र सक्षम बैंक बन्ने, सम्पत्तिमा बृद्धि हुने, व्यवसायको आकार बढ्ने, ग्राहकबर्गलाई अझ विस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने, संचालन लागत घट्न जाने, नेपाल सरकारलाई प्रतिफल दिन सक्ने, वित्तीय पहुँचमा बृद्धि हुनुको साथै संस्थागत सुशासनमा अभिबृद्धि भई समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीको सम्बद्र्धन र सो प्रति सर्वसाधारणको विश्वसनीयतामा समेत अभिबृद्धि हुन जाने विश्वास लिएको सीईओ श्रेष्ठले बताए ।

साथमा सरकारका नीति तथा कार्यक्रम लागु गर्न थप सहयोग पुग्नुका साथै देशमा उत्पादनमुलक, रोजगारमुलक, सेवामुलक एवं भौतिक पूर्वाधारका क्षेत्रहरुमा समेत लगानी गर्न सबल र सक्षम वाणिज्य बैंकको रुपमा देशको समग्र आर्थिक सामाजिक विकास एवं वित्तीय प्रणालीमा सकारात्मक प्रभाव पार्दै नेतृत्वदायी भुमिका निर्वाह गर्न बैंक सफल हुने श्रेष्ठको भनाइ छ ।

बि.सं. २०१६ साल असार १ गते देशको औद्योगिक विकासमा योगदान पुर्याउने उद्धेश्यका साथ विशेष ऐन अन्तर्गत स्थापित नेपाल औद्योगिक विकास निगम हाल एन.आई.डि.सी. डेभलपमेण्ट बैक लिमिटेड र देशको आर्थिक, सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्धेश्यका साथ बि.सं. २०२२ साल माघ १० गते राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अन्तर्गत स्थापित राष्ट्रिय वाणिज्य बैंक हाल बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम बैंकिङ्ग कारोबार गर्दै आईरहेका दुई अलग अलग सरकारी स्वामित्वका यी संस्थाहरुलाई एउटै बनाउने सम्बन्धमा नेपाल सरकारको मिति २०७३ माघ १४ गते एन.आई.डि.सी. डेभलपमेण्ट बैक लिमिटेडलाई  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा गाभ्ने निर्णय भएको थियो ।  

कार्यक्रममा नेपाल सरकार अर्थ मन्त्रालयका सचिव श्री राजन खनाल, संचार सचिव एवं बैंकका संचालक समितिका नव नियुक्त अध्यक्ष महेन्द्रमान गुरुङ्ग, अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुङ्गाना, राष्ट्रिय वाणिज्य बैंक तथा एन.आई डि.सी. डेभलपमेन्ट बैंक संचालक समितिका सदस्यहरु, रावा बैंक कर्मचारी सघंका अध्यक्ष बेदबहादुर लावती, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संघठन रावा बैंकका अध्यक्ष दिपेन्द्र काकी, रावा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, उद्धबप्रसाद खनाल, विभागिय प्रमुखहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिती रहेको थियो । कार्यक्रम नायब महाप्रवन्धक उद्धब प्रसाद खनालले संचालन गरेका थिए ।