Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

तीन बैंकको मुनाफा दुई अर्बमाथि

२०७५ बैशाख १४ गते

बैंकिङ खबर । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा हालसम्म विवरण सार्वजनिक गरिसकेका बैंकहरुमध्ये, तीन वटाको नाफा दुई अर्ब नाघेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा सबैभन्दा धेरै दुई अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । नविल बैंक र नेपाल बैंक पनि प्रतिष्पर्धामा छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब ८३ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ३८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले दुई अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

१० अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा पनि १० अर्ब ९१ करोड ९८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा आठ दशमलव ६७ प्रतिशत वृद्धि गरी एक खर्ब ३० अर्ब १९ करोड ७४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १६ दशमलव ५९ प्रतिशतले वृद्धि गरी एक खर्ब १८ अर्ब ८६ करोड सात लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १८ दशमलव ४१ प्रतिशतले बढेर चार अर्ब ११ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा आठ दशमलव ६५ प्रतिशतले बढेर तीन अर्ब ७५ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ५९ करोड रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ६६ करोड ७० लाख रुपैयाँ राखेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३५ दशमलव ५५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) १८ दशमलव ७६ गुणा र प्रतिसेयर नेटवर्थ दुई सय दुई दशमलव ५८ रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य ७६ प्रतिशत, जोखिमयुक्त सम्पतिमा १३ दशमलव २५ प्रतिशत र सिडि रेसियो ७८ दशमलव ०३ प्रतिशत रहेको छ ।

नबिल बैंक लिमिटेड
नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब ७९ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ३१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नविलले दुई अर्ब ६८ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब चार करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा आठ अर्ब ८१ करोड ६८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा पाँच दशमलव ०१ प्रतिशत वृद्धि गरी एक १ खर्ब २३ अर्ब एक करोड ९४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ दशमलव ९८ प्रतिशतले वृद्धि गरी एक खर्ब पाँच अर्ब २५ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १० प्रतिशतले बढेर चार अर्ब ४९  करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा तीन दशमलव १७ प्रतिशतले बढेर चार अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा दुई लाख रुपैयाँ मात्रै खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २६ करोड ३७ लाख रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ४६ दशमलव ८३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) २१ दशमलव १२ गुणा, तरलता अनुपात २४ दशमलव २४ प्रतिशत र प्रतिसेयर नेटवर्थ दुई सय १० रुपैयाँ, निष्कृय कर्जातर्फ एक दशमलव ०७ प्रतिशत र जोखिमयुक्त सम्पति १३ दशमलव ०२ प्रतिशत रहेको छ । 

नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई अर्ब ५६ करोड ७७ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले दुई अर्ब ५१ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब चार करोड २८ लाख ६२ हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब ९७ करोड ६८ लाख ८४ हजार रुपैयाँ राखेको छ । निक्षेपमा ८. १७ प्रतिशत वृद्धि गरी ९० अर्ब ८१ करोड ३२ लाख ७५ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ७.४१ प्रतिशतले वृद्धि गरी ७९ अर्ब ७० करोड ५९ लाख ३२  हजार रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी २५.५१ प्रतिशतले बढेर छ अर्ब ६० करोड ६३ लाख २८ हजार रुपैयाँ पुगेको छ । बैंकको कर्मचारी खर्च, अन्य संचालन खर्च र व्याज खर्च सबै बढेको छ । यो अवधिमा ३१ करोड ८९ लाख १५ हजार रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २६ करोड ३६ लाख नौ  हजार रुपैयाँ राखेको छ ।

बैंकको खराब कर्जा २.९१, निक्षेप लागत २.९७, प्राथमिक पुँजी, कर्जा र सीसीडी रेसियो ७६.४८, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड) दर ४.९९ र आधार ब्याज दर बढेर ७.११ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ५.३४ प्रतिशतले घटेर ४२ रुपैयाँ ५७ पैसा पुगेको छ । प्रतिसेयर नेट वर्थ १७४.३१ रुपैयाँ रहेको छ । त्यस्तै, पुँजीकोष अनुपात १८.०२ प्रतिशत रहेको छ ।