बैंकिङ खबर । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ७८ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ५६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कृषि विकास बैंकले एक अर्ब ५७ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
१३ अर्ब ९३ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा नौ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ९७ अर्ब १० करोड ५६ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा छ दशमलव ८१ प्रतिशतले वृद्धि गरी ९४ अर्ब ८९ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १६ दशमलव ३८ प्रतिशतले घटेर चार अर्ब ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६४ प्रतिशतले घटेर ६४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा एक अर्ब ८० करोड ५४ लाख ९१ हजार रुपैयाँ राइट ब्याक गरेको बैंकले प्रोभिजनमा एक अर्ब ८८ करोड ९९ लाख ९२ हजार रुपैयाँ राखेको छ ।
बैंकको पुँजीकोष २० दशमलव ७६ प्रतिशत, निष्कृय कर्जा ३ दशमलव ४९ प्रतिशत, प्रतिसेयर आम्दानी २४ दशमलव २० रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ८८ गुणा, प्रतिसेयर नेटवर्थ २ सय १० दशमलव ५३ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ०१ प्रतिशत रहेको छ ।

