बैंकिङ खबर । लगानीयोग्य रकम अभावको समस्या समाधानका लागि विदेशी वित्तीय संस्थाबाट कर्जा सापटी ल्याउन पाइने नीतिगत व्यवस्था भएसँगै चार वटा वाणिज्य बैंकले प्रक्रिया अघि बढाएका छन् । हालसम्म एनएमबी बैंक, एनआईसी एशिया बैंक र हिमालयन बैंक र सनराइज बैंकले विदेशी वित्तीय संस्थासँग कर्जा सापटी लिने प्रक्रिया थालेका हुन् ।
एनआईसी एशिया बैंकले दीर्घकालीन कर्जा लिने दिने सम्बन्धमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग सम्झौता गरेको छ । बैंकले दुई अर्ब ५० करोड रुपैयाँ कर्जा सापटी लिनका लागि आईएफसीसँग सम्झौता गरेको छ । हो । त्यस्तै, एनएमबि बैंकले पनि आईएफसी र युरोपेली संघबाट गरेर दुई अर्ब ५० करोड रुपैयाँ कर्जा लिने सम्झौता गरेको छ । यी दुई बैंकले कर्जा ल्याउनका लागि नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक स्वीकृति पनि पाइसकेका छन् । अब सबै प्रक्रिया पूरा गरेर दुबै बैंक अन्तिम स्वीकृतिका लागि पुनः राष्ट्र बैंक जानेछन् ।
यसबाहेक, हिमालयन बैंक र सनराइज बैंकले पनि विदेशी वित्तीय संस्थाबाट कर्जा ल्याउने सम्बन्धमा कार्य भइरहेको जनाएका छन् । हिमालयन बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न आईएफसीसँग सम्झौता गरेको भए तापनि स्वीकृतिका लागि राष्ट्र बैंक पुगेको छैन । सनराइज बैंकमा भने आन्तरिक छलफल चलिरहेको छ ।
आन्तरिक बैङ्किङ प्रणालीमा देखिएको लगानीयोग्य रकम अभावको समस्या समाधानमा सहयोग र्पुयाउन बैङ्कर्स तथा विज्ञको सुझावमा नेपाल राष्ट्र बैंकले परिवर्त्य विदेशी मुद्रामा ऋण लिन पाउने नीतिगत व्यवस्था गरेको थियो । जसअनुसार वाणिज्य बैङ्कहरूले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म त्यस्तो ऋण लिन पाउँछन् ।

