Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

उद्यम गर्न युवा स्वरोजगार कोषले पाँच लाखसम्म ऋण दिने

२०७५ बैशाख ९ गते

युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति  पाँच लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति  दुई लाख रुपैयाँ  दिने गरेको कोषले रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताए ।

कोषले युवालाई उद्यम, कृषिलगायतका स्वरोजगारमुखी व्यवसाय सञ्चालन गर्नका लागि सहुलितय दर (पाँच प्रतिशत ब्याज)मा ऋण दिने गरेको छ । पहिले दुई लाख रुपैयाँ दिँदा बिना धितो दिने गरेकामा अहिले भने पाँच लाख रुपैयाँसम्मको ऋण धितोमा दिने भएको हो ।

‘‘आजभन्दा १० वर्षअघि दिइने रकमले अहिलेको परिस्थितिमा व्यवसाय गर्न कठिन भएको छ”, उनले भने, “त्यसैले महँगीअनुसार दुई लाखदेखि पाँच लाखसम्म ऋण प्रवाह गर्ने छौँ ।” कोषले गरिबी, पिछडिएका, सीमान्तकृत, कृषक मजदूरलगायतलाई स्वरोजगार बनाउनका लागि ऋण प्रवाह गर्ने उनले बताए । विसं २०६५ मा कोषले युवालाई व्यवसाय सञ्चालन गर्नका लागि  दुई लाख रुपैयाँ सहुलियत दरमा ब्याज दिने गरेको थियो । 

यस्तै कोषले २० जना युवाको समूहलाई एक करोड रुपैयाँसम्म सहुलियत दरमा ऋण प्रवाह गर्ने भएको छ ।
एक जनालाई पाँच लाखको दरले एक करोड रुपैयाँसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा. दंगालले जानकारी दिए । कुनै ठाउँका युवा समूहलाई उद्यम सञ्चालन गर्नका लागि एक करोड रुपैयाँसम्म दिने उनले बताए ।

कोषले सहकारी र बैंकमार्फत उद्यम तथा व्यवसाय सञ्चालन गर्नका लागि ऋण प्रवाह गरिरहेको छ । रासस