Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

साताभर चर्चामा रहेका प्रमुख बैंकिङ खबरहरु

२०७५ बैशाख ७ गते

बैंकिङ खबर । यो साता लामो समयदेखिा प्रतिक्षित मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको मर्जर प्रक्रिया एक कदम अगाडी बढ्यो । त्यस्तै, नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारमा सीमा निर्धारण गर्यो । यसबाहेक अन्य पनि थुप्रै गतिविधि बैंकिङ क्षेत्रमा भए । समग्रमा यो साता बैंकिङ क्षेत्रमा भएका प्रमुख बैंकिङ खबरहरु यहाँ प्रस्तुत गरिन्छ :

मेगा र टुरिजमबीचको मर्जर अन्तिम चरणमा
मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले  अन्तिम स्वीकृति दियो । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि पछिल्लो समय मेगा बैंकको सञ्चालक समितिले गत माघमा नै टुरिजम डेभलपमेन्ट बैंकसँग र्मजर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । दुई बैंकबीच मेगाको प्रति शेयर १०० रुपैयाँ बराबर टुरिज्जमको ९५ रुपैयाँ कायम गरेर मर्जरमा जाने निर्णय भएको थियो । मर्जर प्रक्रियाका लागि दुवै बैंकको सेयर कारोबार २०७३ माघ ९ गतेदेखि रोक्का रहेको छ । हकप्रद सेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी सात अर्ब ५६ करोड पुगेको छ । टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर नौ अर्ब ४७ करोड रुपैयाँ पुग्नेछ ।

शाखारहित बैंकिङ सुरु गर्ने पहिलो विकास बैंक
ओम डेभलपमेन्ट बैंक लिमिटेडले कास्की जिल्लाको पर्यटकिय गाउँ घान्द्रुकमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । यससँगै विकास बैंकहरुमा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नेमा ओम पहिलो भएको छ । शाखारहित बैंकिङ्ग सेवाको लागि बैंकले आफ्नै कर्मचारी बिवेक गुरुङ्गलाई नियुक्त गरेको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको बायोम्याट्रिक्स ट्याब्लेट मेशिनबाट प्रतिदिन २ लाखसम्म निक्षेप जम्मा गर्न र १ लाखसम्म निक्षेप तथा रेमिटेन्सको भुक्तानी लिन र ग्राहकहरुबाट कर्जाको फाईल संकलन गरिनेछ भने मर्चेन्ट पेमेन्ट सुविधा अन्तर्गत डिस होमको रिचार्ज गर्न, मोवाईलको बिल भुक्तानी तथा रिचार्ज गर्न सक्नेछन् । छिटै नै बिजुली बत्ती तथा अन्य बिलहरु भुक्तानी गर्ने सुविधा पनि शुरु गरिने प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

विद्युतीय कारोबारमा सीमा
नेपाल राष्ट्र बैंकले विद्युतीय बैंकिङ कारोबारको सीमा तोक्यो । जसअनुसार, इन्टरनेट बैंकिङबाट दैनिक अधिकत्तम एक लाख र मासिक पाँच लाख रुपैयाँसम्म मात्र कारोबार गर्न पाइने भएको छ । मोबाइल बैंकिङबाट एक पटकमा बढिमा पाँच हजार र दैनिक १० हजार रुपैयाँसम्मको कारोबार गर्न पाइन्छ । मोबाइल बैंकिङबाट मासिक ५० हजार रुपैयाँभन्दा बढीको कारोबार गर्न पाइँदैन । सामान्य अवस्थामा एक लाख रुपैयाँभन्दा बढिको प्रिपेड कार्ड जारि गर्न पाइँदैन । प्रिपेड कार्डबाट नेपालभित्र नगद झिक्दा न्युनतम पाँच सय र अधिकतम १० हजारसम्म झिक्न पाइन्छ । एक महिनामा भने ५० हजारसम्म झिक्न पाइन्छ । अत्यावश्यक अबस्थामा पनि स्विकृति क्रेडिट कार्डको सीमामा रहि २५ प्रतिशत अर्थात २५ हजार भन्दा बढि नगद झिक्न पाइँदैन । डेबिट कार्डबाट नगद कारोबार गर्दा एकपटकमा न्यूनतम पाँच सयदेखि अधिकतम २५ हजारसम्म झिक्न पाइन्छ । यस्तो कारोबार प्रतिदिन अधिकतम एक लाखसम्म गर्न पाइन्छ । रेमिट्यान्सको रकम एक लाखभन्दा बढी नगद लिन पाइँदैन । एजेन्ट वा सब एजेन्टमार्फत इ वालेट, मोबाइल वालेट वा डिजिटल वालेटमा नगद जम्मा गर्दा एक पटकमा अधिकतम पाँच हजारसम्म गर्न सकिन्छ । उनीहरूबाट कारोबार गर्दा प्रतिदिन अधिकतम १५ हजार र मासिक अधिकतम २५ हजारसम्म रकम जम्मा गर्न सकिनेछ । यी माध्यमबाट भुक्तानी गर्दा भने एक पटकमा अधिकतम पाँच हजार, प्रतिदिन १५ हजार र मासिक अधिकतम २५ हजारभन्दा बढीको भुक्तानी कारोबार गर्न पाइँदैन ।

नेपाल विकास परिदृश्य
विश्व बैंकले बुधबार दुई वर्षे नेपाल विकास परिदृश्य सार्वजनिक गर्यो । परिदृश्यमार्फत विश्व बैंकले नेपाल सरकारलाई खर्च व्यवस्थापन गर्न सुझाव दिएको छ । नयाँ संघीय प्रणालीले आगामी दिनमा थप वित्तीय दायित्व सिर्जना भई खर्चको दवाव बढ्ने भएकाले अनावश्यक खर्च कटौति गर्नुपर्ने विश्व बैंकको तर्क छ । 
त्यस्तै, पेन्सन प्रणालीमा सुधार गर्न र सामाजिक सुरक्षा खर्च व्यवस्थापन पनि विश्व बैंकले सुझाएको छ । यो वर्ष नेपालको आर्थिक वर्ष ४.६ प्रतिशत रहने र आगामी आर्थिक वर्षमा ४.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ । बाडी र डुवानका कारण कृषि उत्पादनमा गिरावट आए तापनि उद्योग क्षेत्रको प्रगति राम्रो रहने विश्व बैंकको ठहर छ । पछिल्लो समयमा रेमिट्यान्स आप्रवाहमा कमी, आयातमा वृद्धिले गर्दा समग्र शोधानान्तर घटामा गएको विश्व बैंकले जनाएको छ ।

सीआस्वा सदस्य लाई सेबोनको निर्देशन
नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दियो । सी–आस्बा प्रणाली लागू गर्न बोर्डबाट अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका कतिपय शाखा कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी नरहेको, लगानीकर्ताहरुको खातामा धितोपत्र खरिद आवेदनमा उल्लेख भए बमोजिम यथेष्ट रकम उपलब्ध भए नभएको एकीन नगरिकनै आवेदन बुझिलिने गरेको, चेकसमेत बुझिलिने गरेको जस्ता गुनासोहरू आएको भन्दै बोर्डले प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

भारतमा नगद अभाव
भारतमा नोटको अभाव देखियो । तेलङ्गना, आन्ध्र प्रदेश, पूर्वी महाराष्ट्र, बिहार र गुजरात लगायतका राज्यका एटीएमबाट पैसा निस्किन छाडेपछि सरकारले पाँच सय भारुको छपाई बढाउने निर्णय गरेको छ । आगामी केही दिनभित्रै हरेक दिन २५ अर्ब रुपया मूल्य बराबरका ५ सय रुपयाको नोट छाप्ने भारतको सरकारको तयारी छ । यसले एक महीनामै सात खर्बदेखि साढे सात खर्ब रुपया नगद प्रवाह हुने अपेक्षा गरिएको छ ।

एपेक्स घोटालामा मनोज भेटवाल पक्राउ
एपेक्स घोटालामा मुछिएका ’क’ बर्गका निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परे । केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबि) को एक टोलीले एनसीसीमा गाभिएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको कर्जा घोटालामा काठमाडौं भ्युटावरको ठेकेदार भेटवाललाई सोमवार पक्राउ गरेको हो । कमसल जग्गा धितो राखेर लिएको करोडौ रुपैयाँ कर्जामध्ये १२ करोड असुल हुन नसकेपछि उनलाई नियन्त्रणमा लिएको ब्यूरोको टोलीले जनाएको छ ।

एनआईसी एशिया बैंकको नयाँ वर्ष अफर
एनआईसी एशिया बैंकले आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत रकम भुक्तानी गर्दा खरिद मूल्यको ५५ देखी ५०५ सम्म छुटको सुविधा उपलब्ध गराउने योजना सार्वजनिक गर्यो । आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा वि.स.२०७५ साल भरी विशेष छुटको सुविधा दिने उद्देश्यका साथ बैंकले आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरुमा सेवा÷वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५५ देखी ५०५ सम्म छुटको सुविधा उपलब्ध गराउने भएको हो ।

लक्ष्मी बैंकको नयाँ वर्ष अफर
नयाँ वर्ष २०७५ को अवसर पारेर लक्ष्मी बैंक लिमिटेडले आफनो भिसा कार्ड प्रयोगकर्ताका लागि क्यास ब्याक अफर ल्यायो । जसअन्तर्गत लक्ष्मी बैंकबाट भिसा कार्ड लिएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्ड मार्फत  अनलाइनरपसबाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा रु. १००० सम्म रकम पुनः फिर्ता हुने क्यास ब्याकको व्यवस्था गरिएको छ । यो ब्यवस्था अप्रिल १५, २०१८ देखि मे १५, २०१८ सम्म कम्तीमा ३ पटकसम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्नेछन् । 

मुक्तिनाथ विकास बैंकमा नयाँ डेपुटी सीईओ
मुक्तिनाथ विकास बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भए । उनले वैशाख २ गते आइतबारदेखि पदबहाली गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका मानन्धर मुक्तिनाथ विकास बैंकमा पदवहाली गर्नुअघि प्रभु बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनीसँग विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष कार्य गरेको अनुभव रहेको छ ।  

अन्य
प्रभु बैंक लिमिटेड र ललितपुर जिल्लाललितपुर महानगरपालिका वडा नं. ११, सैंबुस्थित नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) बीच प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई सेवा सुविधामा लाग्ने शुल्कमा छुट उपलब्ध गराउने सम्झौता भयो ।
ज्योति विकास बैंक लिमिटेडले काठमाडौँको कालीमाटीमा नयाँ शाखा विस्तार गर्यो ।
गण्डकी विकास बैक लिमिटेडले मकवानपुरको हेटौडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाण्डौंको नयाँ वानेश्वर गरी आठ नयाँ शाखाबाट कारोबार सुरु गर्यो । 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री जन उदय माध्यमिक विद्यालयलाई रू १,००,००० को आर्थिक सहयोग उपलब्ध गरायो ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँको सुकेधारामा शाखा कार्यालय तथा दोलखाको चरिकोटमा उपशाखा कार्यालय सहित थप २ स्थानबाट सेवा शुभारम्भ गर्यो ।