राम किशोर मेहता । कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुले आफुले गर्न हुने तथा गर्न नहुने कामहरुको बारेमा जानकार हुन आवश्यक हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवाहरुको फेहरिस्त लामो रहेको कारणले कुनै पनि कर्मचारीले बैंकमा कार्यरत रहँदा आफुले गर्न हुने वा नहुने कामहरुको विस्तृत जानकारी राख्नुपर्दछ । बैंकमा आर्थिक कारोबारहरु हुने भएकोले कर्मचारीले गरेको गल्तीको कारण बैंकको सम्पति जोखिममा पर्न सक्ने अवस्था सिर्जना हुन सक्दछ । त्यसैले कर्मचारीहरुलाई उनिहरुले गर्न नहुने कामहरुको बारेमा समय सापेक्ष ज्ञान हुनु पर्दछ ।
हुन त बैंकहरुले कर्मचारीको पद तथा तह अनुसार कर्मचारीहरुले गर्न हुने कामहरुको आधारमा विभिन्न आन्तरिक नियन्त्रण गर्ने संयन्त्रहरु बनाएको हुन्छ । यसको आलावा समय समयमा केन्द्रीय बैंकको निर्देशन पालना गर्ने गरि तथा बैंकहरुले आफनो बेग्लै विनियमहरु बनाई कर्मचारीहरुको अख्तियारी तथा कार्यक्षेत्रको सीमा निर्धारण गरेको हुन्छ । तथापि, बैंकको कर्मचारीहरुले आफनो दैनिक कर्तव्य निर्वाह गर्ने क्रममा निम्नलिखित कामहरु गर्नुहुँदैन ।
१। आफनो कर्तव्यहरुको बेवास्ता
कर्मचारीहरुले कार्यालय समयमा हाजिर हुने तथा कार्यालयको निर्धारित समय भित्र उनीहरुले ग्राहकहरुको सेवामा सर्मपित हुनु पर्दछ । आफनो व्यक्तिगत कामभन्दा बढी प्राथमिकता दिएर ग्राहकहरुको काम गरेमा ग्राहक बैंकको सेवाबाट सन्तुष्ट हुन सक्ने भएकोले कर्मचारीहरुले आफनो कर्तव्यहरुको बेवास्ता गर्नुहुँदैन । बैंकमा काम गर्दा इमान्दारिताको साथ आफनो कर्तव्य निर्वाह गर्नुपर्दछ । कर्मचारीले आफनो क्षमताको अधिकतम सदुपयोग गरि ग्राहकको सेवा गर्नुपर्दछ । यसरी काम गर्दा बैंकको नियमानुसार पालना गर्नुपर्ने नियम तथा अन्य प्रचलित कानुनहरुको भने उल्लंघन गर्नुहुँदैन ।
२। स्वार्थ बाझ्ने काम
कर्मचारीहरुले बैंकमा कार्यरत रहँदाको अवस्थामा प्राप्त गर्ने विभिन्न अधिकारहरुको प्रयोग गरि बैंकको हित हुने कामहरु मात्र गर्नुपर्दछ । आफुले पाएको अधिकारको दुरुपयोग गरि आपनो व्यक्तिगत स्वार्थ गाँसिएको पक्षमा कुनै निर्णय गर्नुहुँदैन । बैंकको प्रतिष्पर्धी संघ तथा संस्थाहरुमा कुनै किसिमको पद तथा जिम्मेवारी लिनुहुँदैन । कार्यालयको समयमा बैंकको पक्षमा देखावटी कुराहरु मात्र गर्ने तथा कार्यालय समयपश्चात आफु स्वयं कार्यरत संस्थाको प्रतिकुल हुने गरि कुनै काम गर्नुहुँदैन ।
३। आफनो पदको दुरुपयोग
कर्मचारीले आफनो पदको दुरुपयोग हुने गरि आफनो साथीहरु तथा परिवारको अन्य सदस्यहरुको पक्षमा निर्णय गर्नुहुँदैन । बैंकको पदको कारण आफुलाई प्रयोग गरि कसैले अरु कुनै गैरकानुनी लाभ लिन सक्ने भएकोले यसको बारेमा सदैव सजग रहनुपर्दछ । कसैले प्रदान गर्ने कुनै किसिमको गिफ्ट, नगद तथा जिन्सी अन्य भूक्तानीहरु ग्रहण गर्नुहुँदैन ।
४। घुस
कर्मचारीहरुले गर्ने कामहरुलाई अनावश्यक रुपमा विभिन्न वहानामा अल्झाई ग्राहकहरुबाट कुनै प्रकारको घुस लिने काम गर्नुहुँदैन । नेपालको अहिलेको बैंकिङ्ग क्षेत्र अत्यन्त प्रतिष्पर्धी भएकोले कर्मचारीहरुको यस्ता घृणित कामको कारण बैंकले आफ्नो ग्राहक सँधैको लागि गुमाउनुपर्ने हुन सक्छ । तसर्थ, बैंकको कुनै कर्मचारीले कुनै पनि प्रकारको घुस लिने काममा संलग्न हुनुहुँदैन । पछिल्लो समयमा विभिन्न बैंकहरुको कर्मचारीहरुको यस्तो घृणित कुकर्महरुको कारण अन्य सोमmा तथा इमान्दार कर्मचारीहरुले समेत विभिन्न लाञ्छनाको सामना गर्नु परिरहेको छ ।
५। अन्य रोजगारी तथा व्यवसायमा आवद्ध
बैंकको कर्मचारीहरुले एकै समयमा अन्य प्रतिष्पर्धी प्रकृतिको रोजगारी तथा व्यापारमा संलग्न हुनुहुँदैन । बैंकको माथिल्लो तहमा कार्यरत व्यवस्थापक तथा निर्देशकहरुले बैंकको सेवाबाट अवकाश पाएको एक निश्चित अवधिसम्म पनि कुनै अन्य बैंक तथा वित्तीय संस्थाको नीति निर्माण गर्ने तहको रोजगारी स्वीकार गर्नुहुँदैन । तर, बैंकको घोषित नीति नियम तथा अन्य सरकारी नीतिहरुको विरुद्घ नहुने गरि कुनै कर्मचारीले आफनो प्राज्ञिक क्षमताको सदुपयोग गरि कुनै पत्रपत्रिका तथा अनलाईन न्युज पोर्टलहरुमा लेख लेखेमा यसलाई अन्यथाको रुपमा लिनुहुँदैन ।
६। वित्तीय उपकरणहरुको कारोबारमा संलग्न
बैंकको कर्मचारी भएकै नाताले कर्मचारीहरुको बैंकको अति गोप्य सुचनासम्मको पहुँच रहेको हुन्छ । बैंकको सेयर तथा अन्य उपकरणहरुको बजार मूल्यको आधारमा बैंकको समग्र आर्थिक तथा व्यवस्थापकीय पक्षहरुको जानकारी हुने भएकोले कुनै कर्मचारीले सेयरको बजार मुल्य नै परिवर्तन हुने गरि बैंकको कुनै गोप्य सुचनाको आधारमा वित्तीय उपकरणहरुको कारोबारमा संलग्न हुनुहुँदैन ।
७। धितोको अस्वभाविक मुल्यांकन
बैंकले प्रदान गर्ने विभिन्न कर्जाहरुको आधार नै त्रृणीहरुले बैंकलाई दिने धितोहरु रहेको हुन्छ । यस्ता धितोहरुको अन्तिम मुल्यांकन गर्ने अधिकार बैंकको कर्मचारीमा रहेको हुनाले अधिकार प्राप्त कर्मचारीहरुले कुनै लोभ लालचमा परि बैंकको हित विपरित हुने गरि धितोहरुको अस्वभाविक रुपमा कम वा बढी मुल्यांकन नगरि विभिन्न सुचना तथा बजार मुल्यको यर्थाथपरक जानकारी तथा समय समयमा बैंकले तय गरेको अन्य आधारहरुको सहि प्रयोग गरि धितोहरुको समय सापेक्ष मुल्यांकन गर्नु पर्दछ । धितोको मुल्यांकन गर्दा मुल्यमा आएको उतार चढावको कारण पर्न सक्ने असरको समेत जानकारी मुल्यांकनकर्ताले राख्नु पर्दछ ।
८। गोपनियता भंग
बैंकको कर्मचारीहरुले आफुले गर्ने कामको क्रममा पाएको विभिन्न ग्राहकहरुको गोप्य जानकारी तथा बैंक स्वयंको जानकारीको दुरुपयोग गरि बैंकको विश्वासमाथि नै आँच आउन सक्ने कुनै पनि प्रकारको सुचनाको चुहावट गर्नुहुँदैन । तर, सरकारी निकायले आधिकारिक रुपमा माग गरेको सुचना दिनु कुनै बैंक तथा यसमा कार्यरत कर्मचारीहरुको कर्तव्य हुन जान्छ ।
९। समाजको गलत तत्वहरुलाई ग्राहक बनाउने
बैंक एक आर्थिक कारोबार हुने संस्था भएकोले समाजमा विद्यमान रहेका विभिन्न अराजक प्रवृतिको व्यक्तिहरु विभिन्न सेवा पाउने बहानामा बैंकको ग्राहक बन्न चाहिरहेका हुन्छन् । यस्ता व्यक्तिहरुले कर्मचारीलाई उपल्बध गराएको विभिन्न कागजातहरु समेत नक्कली हुन सक्ने भएकोले सो कागजातहरुको आधिकारिता जाँच गरि मात्र बैंकमा खोल्नुपर्दछ । गलत तत्वहरु ग्राहक बनेकै कारण बैंकको संचालन जोखिम समेत बढने भएकोले यस्ता गल्त तत्वहरुलाई रोक्न सक्नु समग्र बैंक तथा कर्मचारीको हितमा नै हुन्छ ।
१०। शंकास्पद कारोबार
संसारभरि नै निरन्तर बढिरहेको विभिन्न आतंककारी गतिविधिहरुलाई सहयोग पुग्ने गरि विभिन्न गैर कानुनी तवरले आर्जन गरेको सम्पतिहरुलाई बैंकिङ्ग च्यानल मार्फत शुद्घ गर्नको लागि गरिने कुनै पनि प्रकारको शंकास्पद कारोबार गर्न दिनुहुँदैन । बैंकमा यस्ता शंकास्पद कारोबार भईरहेको सुचना प्राप्त गर्नेवित्तिकै यसको नियन्त्रण गर्नको लागि आफनो बैंकको आन्तरिक प्रणाली प्रयोग गरि देशको केन्द्रीय बैंकको सम्बन्धित विभागसमक्ष यसको जानकारी गराउनुपर्दछ ।
माथि उल्लेखित बुंदाहरु बाहेक देशको केन्द्रीय बैंक तथा आफु कार्यरत रहेको बैंकले देश तथा बैंकको समग्र हित हुने गरि बैंकको कर्मचारीहरुले गर्न नहुने विभिन्न कामहरुको जानकारी समय समयमा कर्मचारीहरुलाई गराईरहेको हुन्छ । कर्मचारीहरुले समेत यस्ता निर्देशनहरुको हुबहु पालना गर्नु पर्दछ । कर्मचारीहरुले आधिकारीक रुपमा कुनै काम गर्ने प्रकृतीको भए पनि स्थानिय तथा वर्तमान परिस्थीतीलाई मध्य नजर गरि मात्र कुनै काम गर्नु पर्दछ । तर्सथ, बैंकको कर्मचारीहरुले आफुले गर्न नहुने कामहरु गरि आफनो रोजगारी तथा बैंकको सम्पतिलाई जोखिममा पार्ने काम गर्नु हुदैन ।


