बैंकिङ खबर । नेपालमा प्रतिबन्धीत भारुको तस्करी अझै रोकिएको छैन । ५ सय र १ हजार दरका ठुला नोटमा भारतले प्रतिबन्ध लगाएपछि सटही हुन नसकेका भारु तस्करी हुँदै आएको छ । केन्द्रीय प्रहरी अनुसन्धान व्युरो (सिआइबी)ले भारु तस्करी गर्नेलाई पटक पटक प्रकाउ गरेको छ ।
प्रहरीले प्रतिबन्धित करिब ५० लाख भारु नोटसहित बुधबार दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ४९ लाख ३१ हजार ९ सय ५ सय रुपैयाँ भारतीय रुपैयाँ बरामद गरेको हो । प्रहरीले नेपालबाट भारत लैजान लागेको अवस्थामा भारु नोट बरामद गरेको जनाएको छ । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मोरङका सुनील देव र नुवाकोटका चेतबहादुर नेपाली रहेका छन् । सुनील देव कपडा व्यापारी र नेपाली माओवादीका पूर्व लडाकु रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट २ हजार २०६ थान एक हजार रुपैयाँका तथा ५ हजार ४ सय ५१ पाँच सय रुपैयाँका प्रतिबन्धित भारतीय नोट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लाजिम्पाट इलाकामा अवैध कारोबार भएको भन्ने विशेष सूचनाका आधारमा गएराति प्रहरी परिसरले विशेष टोली खटाएको थियो ।

