बैंकिङ खबर । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०७४।०७५ मा नेपालको आर्थिक वृद्धिदर ४.९ मा सीमित हुने प्रक्षेपण गरेको छ । एडीबीले गत २०१७ को सेप्टेम्बरमा ४.७ प्रतिशतले आर्थिक वृद्धि हुने आँकलन गरेको थियो उक्त आँकलनलाई संशोधन गर्दै एडीबीले ४.९ प्रतिशत पुर्याएको हो ।
गत आर्थिक वर्षको तुलनामा यो वर्ष कोदो र मकै जस्ता वर्षे बालीको उत्पादन बढ्ने एडीबीको अनुमान छ । विगतमा भएको राजनितीक अस्थिरतासँगै उत्पादनमुलक उद्योगमा भएको कम लगानीका कारण यो वर्षको औद्योगिक वृद्धिदरमा असर गर्ने भएकाले नेपाल सरकारले लिएको लक्ष्यअनुरुपको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने एडीबीको दाबी छ । थोक तथा खुद्रा ब्यापार विस्तार, वित्तीय मध्यस्थता यात्रा तथा पर्यटन क्षेत्रको वृद्धिदर भने बढ्ने एडीबीको भनाइ छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ७.२ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७५।०७६ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५.५ प्रतिशतले वृद्धि हुने एडीबीको अनुमान रहेको छ । ०७५।०७६ मा ४५६ मेगावाटको माथिल्लो तामाकोसी राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि विद्युत आयातमा कमी आउने एडीबीले जनाएको छ ।
स्थानीय सरकार एवम् प्रदेश सरकारको खर्चमा बृद्धि र कमजोर राजस्व परिचालनका कारण बजेट घाटा भने बढ्न सक्ने एडीबीको प्रक्षेपण रहेको छ । चालु आर्थिक वर्षमा मुद्रास्फीति बढेर ५.५ प्रतिशत पुग्ने एडीबीले बताएको छ ।