May 14th, 2016

हकप्रद निष्काशनमा नयाँ व्यवस्था, अब क्रेडिट रेटिङ गर्नु नपर्ने

dhitopatraनेपाल धितोपत्र वोर्डले हकप्रद शेयर निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नु पर्ने व्यवस्था हटाएको छ । बोर्डले ६ वटा सर्त अघि सार्दै यी सर्त पूरा गर्ने संस्थाले हकप्रद निष्काशन गर्दा क्रेडिट रेटिङ गराउनु नपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकको अनुरोधमा वोर्डले तोकिएको समयमा चुक्ता पूँजी बृद्धि गर्न सहयोग पुग्ने गरि हकप्रदमा नयाँ ब्यवस्था गरिदिएको हो ।
 
यस्ता छन् सर्तहरु
हकप्रद शेयर निष्काशन गर्ने संस्थाहरुले अंकित मूल्यमा हकप्रद शेयर निष्काशन गर्ने सर्तमा मात्र क्रेडिट रेटिङ नगराउँदा हुन्छ । साथै प्रति सेयर नेटवर्थ १ सयरुपैयाँभन्दा बढी भएको हुनु पर्छ भने अंकित मूल्यभन्दा बजार मूल्य बढी भएको हुनुपर्ने छ । क्रेडिट रेटिङ नगर्ने सुविधा पाउन विगत पाँच वर्षदेखि संचालनमा रही कम्तीमा तीन वर्ष नाफामा संचालित भएको हुनुपर्नेछ र संचित नोक्सानमा हुनु हुँदैन । साथै खराव कर्जा पाँच प्रतिशतभन्दा तल र पूँजी बृद्धि गरिएको सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भई कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख भएको कम्पनीले मात्र क्रेडिट रेटिङ नगराइ हकप्रद सेयर जारी गर्न पाउँछन् ।