नवलपरासी जिल्लाको कावासोतीमा तरकारी तथा फलफूलको विमा गर्ने कृषकको संख्यामा दोब्बर वृद्धि भएको छ । गत वर्ष तरकारी तथा फलफुलको विमा गर्ने किसानको संख्या करिब ४० जना रहेकोमा यस वर्ष सो संख्या दोब्बर भएर ८० जना भन्दा माथि पुगेको हो । नेपाल सरकारको लघु विमा कार्यक्रम अन्तर्गत किसानहरुबाट प्रिमियमको २५ प्रतिशत रकम जम्मा गरि बाँकी ७५ प्रतिशत सरकारी अनुदानबाट विभिन्न प्रकारका तरकारी एवं फलफुलहरुको विमा गरिने योजना सरकारले ल्याए पछि यहाँका किसानहरुमा तरकारी एवं फलफुलको विमा गर्ने क्रम बढेको कृषि विकास बैंक कावासोती शाखाले जनाएको छ । कृषि विकास बैंकमार्फत गरिने यो विमामा किसानहरुले करेला, बोडी, भिन्डी, कांक्रा, लौका, बन्दा, काउली, टमाटर, केरा, पर्सी, चिचिन्डा, घिरौला लगाएतका तरकारी एवं फलफुलको विमा गर्ने गरेका छन् ।
गत वर्ष अचानक आएको हावाहुरीले बारीमा लगार्ईएको केरा खेती ढलाएर सखाप पार्दा कृषि विमा गरेका किसानहरुले विमाको रकम पाएको देखेपछि अन्य किसानहरु पनि यसतर्फ आकर्षित भएका छन् । नवलपरासीको कावासोतीमा रहेको कृषि सुरक्षा सहकारी एवं कावासोती तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लिमीटेडको अगुवाईमा यस क्षेत्रका किसानहरुले तरकारी तथा फलफुलको विमा गर्ने गरेका छन् । पछिल्लो ५ वर्ष देखी कावासोतीमा रहेको कृषि सुरक्षा सहकारी द्धारा तरकारी तथा फलफुल उत्पादक किसानहरुलाई विमाका लागि प्रोत्साहन गर्दै आएको भए पनि पछिल्लो २ वर्ष देखी कावासोती कै अर्को कृषि सहकारी सांस्था कावासोती तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लिमीटेडले पनि किसानहरुलाई तरकारी तथा फलफुलको विमा गर्न लगाए पछि यो संख्या हवात्तै बढेको पाइएको छ ।