Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने ३ जना थुनामा

२०७४ चैत्र २३ गते

राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर २७ लाख २८ हजार रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

विभिन्न मितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बिर्तामोड, धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा सुनका नक्कली गरगहना राखेर बैंक ठगी कार्यमा ६ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये तीनजना धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापा जिल्ला अदालतको आदेशमा बिर्तामोड– ५ डेरा गरी बस्ने ३८ वर्षीया मीनादेवी खड्का, मेचीनगर–७ इँटाभट्टा निवासी ३५ वर्षीय शम्भू खत्री, विर्तामोड–३ निवासी ४३ वर्षीय राजकुमार तामाङलाई पुर्पक्षका लागि कारागार पठाइएको हो। तामाङ राष्ट्रिय बाणिज्य बैंक बिर्तामोडका नगद सहायक (खजान्ची) हुन् ।

यता पक्राउ परेकामध्ये बिर्तामोड–५ निवासी ४५ वर्षीय राजकुमार श्रेष्ठ, मेची नगरपालिका–१२ निवासी ४९ वर्षीय गणेश प्रधान र मेची नगरपालिका १० निवासी ३३ वर्षीय प्रवेश अधिकारी भने धरौटीमा छुटेका छन् ।

श्रेष्ठसँग तीन लाख ९८ हजार रुपैयाँ, प्रधान र अधिकारीसँग रु ७०।७० हजार रुपैयाँ धरौटी माग भएकोमा उनीहरुले सो रकम बुझाएर छुटेका छन् । रासस