श्रम बैंक स्थापनाको प्रक्रिया अगाडि बढाइने भएको छ । विद्यमान बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनका कारण श्रम बैंक स्थापना गर्न कठिनाइ परे संसद्बाट पारित गरेर भए पनि यसलाई अघि बढाइने श्रम तथा रोजगारमन्त्री दीपक बोहराले बताए । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रममा श्रम बैंक स्थापनासम्बन्धी बुँदा नभए पनि त्यसले काम गर्न अप्ठ्यारो नपार्ने दाबी गरे । त्यस्तै, वैदेशिक रोजगारको म्यादी जीवन बिमाको रकम वैशाख १ गतेदेखि लागू हुनेगरी १० लाख रुपैँया पुर्याइएको जानकारी उनले गराए ।
आफूले घोषणा गरेको सयदिने कार्ययोजना सकिएपछि प्राप्त भएको उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री बोहराले कार्ययोजनामा उल्लेख भएका ८० प्रतिशत काम सफल पारेको बताए । विदेशमा रहेका कामदारलाई श्रम स्वीकृतिको अवधि सकिएपछि सोही मुलुकलाई राजदूतावासमार्फत पुनःश्रम स्वीकृति दिनका लागि काम अगाडि बढाउन लागिएको जानकारी उनले गराए । बोहराले सार्वजनिक गरेको प्रगतिविवरणका अनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नतिका लागि अनलाइन माध्यमबाट सेवा प्रवाहको प्रक्रिया अगाडि बढाइएको छ भने मुख्य गन्तव्य मुलुकमा जाने कामदारलाई १० वटा स्थानीय भाषामा सूचना सामग्री तयार गरी वितरण गर्ने कार्यको थालनी गरिएको छ । सामाजिक सुरक्षा ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न श्रम तथा रोजगार मन्त्रालयका सचिवको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको प्रगती विवरणमा उल्लेख छ ।