पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले बृहत्त रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६१औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको दशौं वार्षिकोत्सवको अवसर पारेर मंगलबार (चैत्र २० गते) रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
व्लड डोनर्स एशोसिएसन केन्द्रिय समितिका सचिव सूर्यलाल महर्जनको प्रमुुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ब्लोदान पूर्वी भेगिय कार्य समिति सहयोगी संस्थाको रुपमा रहेको थियो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ११५ भन्दा बढीले रक्तदान गरेको संस्थाले जनाएको छ ।
रक्तदाताहरुलाई उत्प्रेरणा जगाउन रक्तदान गर्नेहरुलाई प्रमाणपत्र र टिसर्टको समेत व्यवस्था गरेको संस्थाकी व्यवस्थापक राधा कडरियाले बताइन् । हरेक वर्ष रक्तदान गर्नेहरुको संख्या बढिरहेको समेत उनले जानकारी दिइन् ।
संस्थाले पाँच पटक रक्तदान गर्ने रक्तदातालाई चाँदीको सिक्काउ पहार दिँदै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा विगत ९ वर्षदेखि हरेक साल चैत्र २० गते नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको अध्यक्ष भोलानाथ पाठकले बताए ।
अहिले पनि रगतको अभावमा कतिपय घाइते, सुत्केरी र विमारीको अकालमै मृत्यु हुने गरेकाले मानवीय सहायता पुर्याउने उद्देश्यले संस्थाले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्ने गरेको उनले जानकारी दिए । रक्तदान सम्बन्धीजनचेतनाको व्यापक वृद्धि गरी वर्तमान समयमा देखिएको रगतको अभावलाई परिपूर्ति गर्न सबै संघसंस्था, क्षेत्र र समुदाय लाग्नुपर्नेमा अध्यक्ष पाठकको जोड छ ।
अध्यक्ष पाठक रक्तदाताहरुको छाता संगठन ब्लोदान पूर्वी भेगिय कार्यसमितिको अध्यक्षको रुपमा रहेर रगत अभावलाई न्यूनिकरण गर्न क्रियाशील रहेका छन् ।




