बैंकिङ खबर । नेपालको सेयर बजारमा पछिल्लो समय नयाँ नयाँ टेक्नोलोजीहरु भित्रिने क्रम जारी जारी छ । सेयरको दोस्रो बजार अझै परम्परागत शैलीमा चलिरहेको भएतापनि प्राथमिक बजार निकै व्यवस्थित भइसकेको छ । प्रविधिको प्रयोगले सेयर कारोबारमा जोडिएका सबै पक्षलाई निकै सहज भएको छ । सेयर बजारमा भित्रिएका नयाँ टेक्नोलोजीहरुका बारेमा यहाँ चर्चा गरिन्छ :
ओटीसी कारोबार
सेयर बजार व्यापारमा ब्रोकरहरूजस्ता मूल्य प्रणालीको संलग्नता बिना सिधा एक्सचेञ्जमार्फत व्यापार गर्न अपनाइएको प्रणाली ओटीसी बजार हो । यसमार्फत हुने व्यापारलाई छोटकरीमा ओटीसी अर्थात् ओभर दी काउन्टर भनिन्छ । सामान्यतयाः नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेको कम्पनीहरूको धितोपत्रहरूमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले ओटीसीमार्फत सेयर व्यापार गर्ने गरिन्छ । यसअघि कम्पनी रजिस्ट्रार कार्यालयबाट यस्ता कम्पनीहरूको कारोबार हुँदै आएको थियो । पछिल्लो समय नियामक निकायले ओटीसी बजारबाटै कारोबार गर्न निर्देशन दिएका छन् । बजारमा कारोबार गर्न सम्बन्धित कम्पनी दर्ता हुनुपर्छ । दर्ता निःशुल्क हुन्छ । तर, सेयर खरिद बिक्री भएको अवस्थामा भने नेपाल धितोपत्र बोर्ड र धितोपत्र बजारलाई निश्चित शुल्क बुझाउनुपर्छ । त्यस्तै, नेपाल सरकारलाई पुँजीगत लाभकर पनि बुझाउनुपर्छ । सर्वसाधारणमा सेयर जारी नगरेका कम्पनीले यो प्रणालीमा आएर सेयर स्वामित्व परिवर्तन गर्न सक्छन् । ओटीसीमार्फत व्यापार गर्न कम्पनीले सर्वसारधाणमा सेयर जारी गर्नुपर्ने बाध्यता हुँदैन । ओटीसी बजारमार्फत ०६८ सालमा पहिलो पटक नेपाल बैंकको सेयर खरिद बिक्री भएको थियो ।
डिम्याट एकाउन्ट
सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग शेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैङ्कमा रहेको डिम्याट खातामा हुन्छ । यसो भएपछि सेयर खरीदविक्री गर्न सहज हुन्छ, खरीदविक्रीको साफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस सेयर तथा हकप्रद सेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले, त्यस्तो सेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन ।
मार्केट डेप्थ
सेयर बजार केही समयअघि मात्रै मार्केट डेप्थको व्यवस्था गरिएको थियो । आफूले लगानी गरेको कम्पनिको वास्तविक अवस्था बुझ्न कार्यालयमै जानुपर्ने बाध्यताको अन्त्य यस व्यवस्थाले गर्यो । जसअन्तर्गत नेप्सेको वेभसाइटमा गएर आफूले लगानी गरेको कम्पनीको वास्तविक अवस्थाको बारेमा आफूले चाहेको समयमा जानकारी प्राप्त गर्न सम्भव भयो ।
आस्वा प्रणाली
धितोपत्र (सेयर)को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । यसअन्तर्गत लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ । सेयर खरीदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँड नहुन्जेल झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ । सेयर परेको खण्डमा उक्त रकम विक्री प्रबन्धककोमा पठाइनेछ । सेयर परेन भने उक्त रकम फकुवा गरिने व्यवस्था आस्वा प्रणालीमा हुन्छ ।
अनलाइन आस्वा प्रणाली
आस्वा प्रणाली अनिवार्य गरिएको केही समयभित्रमा नै अनलाइन आस्वा प्रणालीलाई अनिवार्य गरिएको छ । अहिले आईपिओ, एफपिओ तथा हकप्रद सेयर खरिद गर्नका लागि विक्री प्रबन्धकसम्म पुग्नुपर्ने बाध्यता छैन । अनलाइन आस्वा प्रणाली लागू हुनुअघि आस्वा प्रणाली लागू गरिएको थियो, जसमा सेयर आवेदन बैंकमार्फत दिने व्यवस्था थियो । अहिले सेयर भर्न बैंकसम्म पनि जानु पर्दैन । घरमै बसेर अनलाइनमार्फत सेयरमा आवेदन दिन सकिने प्रविधि प्रयोगमा आइसकेको छ । अहिले अधिकांश बैंकहरुको वेभसाइटमा गएर सिधै आस्वा प्रणालीमार्फत सेयरमा आवेदन दिन सकिन्छ । अनलाईन आस्बा प्रणालीबाट सेयर आवेदन गर्दा तपाईले धितोपत्र बोर्डबाट निक्षेप सदस्य लिएका कुनैपनि निक्षेप सदस्यकहाँ सेयर अभौतिक रुपमा जम्मा गर्ने खाता (डिम्याट एकाउन्ट) खोलेको हुनुपर्छ भने आवेदन गर्ने बैंकमा आवेदन गर्ने मौजात रकम समेत बैंक हुनु आवश्यक पर्दछ । यस्तो सेवा लिनका लागि बैंकको वेभसाईटमा गएर आस्बा अनलाइन (केही बैंकको इन्टरनेट बैंकिङमा लगइन गरेपछि मात्र आस्बा अनलाइनको सेवा आउँछ) लेखिएको स्थानमा क्लिक गर्नुपर्छ । सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लग इन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पुरा गर्नुपर्ने हुन्छ । अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क गरि अनलाइन बैंकिङको सेवा माग गर्न सक्नेछन् । यी बैंकमा खाता भएका सेवाग्राहीले अनलाइन बैंकिंग सुविधा लिएर यो प्रणालीबाट घरमा बसी बसी सेयर आवेदन गर्न सक्नेछन् । आस्बामा अनलाइनबाट सेयर आवेदन गरेपछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी सहितको डिजिटल कागजात उपलब्ध गराउँछ ।


