बैंकिङ खबर । आगामी चैत्र २१ र २२ गते दोस्रो सहकारी महासम्मेलन आयोजना गरिने भएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नाराका साथ हुने दोस्रो सहकारी महासम्मेलनले नेपालको सहकारी अभियानको हालसम्मका उपलब्धिको समीक्षा गर्ने भएको छ । महासम्मेलनले सहकारीलाई उत्पादनमा केन्द्रीत गर्न नीति तय गर्ने बताइएको छ ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गर्न लागेको महासम्मेलनले संयुक्त राष्ट्र संघले अघि सारेको सन् २०३० सम्मको दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रको सहभागिता तथा योगदानमा बृद्धि गर्ने लक्ष्य लिएको छ । त्यस्तै, दुई वर्षभित्र २९ अर्ब सेयर पुँजी थप गर्ने , दुई वर्षभित्र सहकारीमा १७ लाख मानिसलाई आबद्वता गराउने लगायतको लक्ष्य महासंघले लिएको छ ।
महासम्मेलनमा नेपाल, भारत, चीन, जापान, कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तानलगायतका सहकारी अभियान्तासहित एक हजार सहकारी अगुवाहरुको सहभागिता हुनेछ ।
हाल नेपालका सहकारीहरुले पौने तीन खर्बको कारोबार गर्दै आएका छन् । त्यसमध्ये करिब ७० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार भइरहेको छ ।


