Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नयाँ कम्पनीलाई ब्रान्डिङमै चुनौती

२०७४ चैत्र १५ गते

राजु बास्कोटा । चालू आर्थिक वर्षमा थपिएका नौ वटा नयाँ बीमा कम्पनीलाई पुराना ९ वटा कम्पनीसँगको प्रतिस्पर्धा पहिलो चुनौती भएको छ। आफ्नो बजार बनाउने, नयाँ प्रोडक्ट ल्याउने, एजेन्टलाई आकर्षित गर्ने, उत्प्रेरणा दिने र बजारमा छुट्टै पहुँच बनाउनु नै नयाँ कम्पनीका प्रमुख चुनौती हुन्। आफ्नो ब्रान्ड बनाउन गरिने प्रचारप्रसार र खर्च व्यवस्थापन पनि नयाँ बीमा कम्पनीका निम्ति चुनौतीका रूपमा देखापरेको छ ।

बजारमा बीमा कम्पनीको खर्चमा देखिएको प्रतिस्पर्धा नियन्त्रण गर्न बीमा समितिले गत वर्षदेखि वार्षिक प्रथम बीमा शुल्कको १८ प्रतिशतभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाका कारण नयाँ बीमा कम्पनीले जति आम्दानी हुन्छ, सोही अनुसारको मात्रै खर्च अधिकार पाएका छन् ।

थोरै आम्दानी हुनेले ब्रान्डिङ र बजारीकरणमा पनि थोरै नै खर्च गर्नुपर्छ भने धेरै आम्दानी गर्ने पुरानासँग कम्पनीले नयाँको तुलनामा धेरै नै खर्च गर्न पाउँछन्। यसले पनि नयाँ र पुरानाबीचको प्रतिस्पर्धा चुनौतीपूर्ण छ। सबै बीमा कम्पनी आआफ्नो ब्रान्ड बनाउन लागिपरेका छन् । तर बीमा समितिले आफ्नो आम्दानीअनुसार मात्रै खर्च गर्नुपर्ने सीमा तोकेकाले पनि पुराना कम्पनीसँगको प्रतिस्पर्धा साँच्चै कठिन भएको नयाँ बीमा कम्पनीको भनाइ छ।

बीमा कम्पनीले आठ १० देखि १८ प्रतिशसम्म नै खर्च गर्न थालेकाले सबैलाई एकरूपता ल्याउन १८ प्रतिशतको खर्च सीमा तोकिदिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । उनका अनुसार अधिक खर्चका कारण कम्पनी घाटामा नजाओस् भनेर गत वर्षबाट अभिकर्ता अन्य, बिजनेस प्रमोसनसहितमा खर्च गर्न पाउने गरी यो सीमा तोकिदिएको हो ।

जीवन बीमा कम्पनीलाई दिएको यो १८ प्रतिशतको सिलिङभित्रै रहेर ब्रान्डिङ गर्नुपर्ने, बजारीकरण तथा एजेन्टबाहेकको कमिसनमा खर्च पुर्याउनुपर्ने भएकाले निकै चुनौतीपूर्ण भएको रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले बताए । तोकिएको रकमले निश्चित दायराभित्र रहेर खर्च गर्नुपर्ने भएको ब्रान्डिङमा समस्या भइरहेको उनको बुझाइ छ ।

उनले भने, ‘वर्षौ पुराना कम्पनीसँग प्रतिस्पर्धा गर्नु र आफ्नो बजार बनाउनु आफैंमा चुनौतीपूर्ण छ। त्यसमा पनि २० करोड रुपैयाँ पहिलो वर्ष बीमाशुल्क आर्जन गरेको अवस्थामा तीन करोड ६० लाख मात्रै प्रवद्र्धनसहितका काममा खर्च गर्न पाइन्छ ।’ अहिले आएका नयाँ कम्पनीले कम्तीमा दशकभन्दा बढी पुरानासँग प्रतिस्पर्धा गर्नुपर्छ ।

पुराना कम्पनीको आम्दानी र बजार स्वाभाविकै रूपले बढी हुने र उनीहरूको खर्च अधिकार पनि धेरै हुन्छ। हामीले आफ्नो कमाइअनुसार खर्च गर्न पाउने भएकाले पनि नयाँका लागि धेरै चुनौती देखिएको पराजुलीको बुझाइ छ।

बीमा समितिले नयाँ र पुरानालाई अलग रूपले हेर्नुपर्ने तर्क पराजुलीको छ। नयाँ कम्पनीलाई पुरानासँग तुलना गरेर हेर्दा स्थापित हुन निकै धेरै चुनौती भए पनि बोनस, प्रवद्र्धन, ब्रान्डिङ, मोटिभेसनमा समान खर्च सीमा छ। अहिले नयाँ कम्पनीलाई सञ्चालन हुनै समस्या नभए पनि कमाइअनुसारको मात्रै खर्च गर्न पाउने भएकाले नयाँनयाँमा कमाइ थोरै हुने र सोको अनुपातमा खर्च पनि कमै गर्नुपर्छ। सुरुका वर्षमा प्रमोटर ब्याकग्राउन्ड र कम्पनीको व्यवस्थापनलाई पहिलो आधार बनाएर बजारमा जानुपर्ने अवस्था रहेको पनि उनले जानकारी दिए।

असोज अन्तिम साताबाट सञ्चालनमा आएको रिलायबल लाइफका सीईओ नारायणबाबु लोहनीका अनुसार नयाँलाई बजार बढाउन र ब्रान्डिङमा हुने समस्या स्वाभाविक नै हो। ‘हामी बजारमा आएको भर्खर पाँच महिना भए पनि हाम्रो बजार पहुँच र प्रतिस्पर्धा सन्तोषजनक नै छ’, लोहनीले भने। बीमाको पहुँच नपुगेको ठाउँमा पुग्ने र अरुले ल्याएको भन्दा फरक प्रडक्ट र फरक शैलीबाट एजेन्टलाई आकर्षण गर्न थालिएको पनि लोहनी बताउँछन्।

‘बीमा कम्पनीको मूल काम एजेन्ट बनाउने र त्यसलाई उचित तरिकाबाट परिचालन गर्ने हो भने केही गाह्रो नहुने युनियन लाइफका सीईओ मनोजकुमार लाल कर्णले बताए। एजेन्टलाई उत्प्रेरणा दिने र बढीभन्दा बढी पोलिसी बेच्नेतर्फ प्रेरित गर्न सक्यो भने आशाअनुसारकै प्रगति हासिल गर्न समस्या नभएको लालको बुझाइ छ। बीमा कम्पनीलाई दिएको आम्दानी अनुसारको खर्च अधिकार भनेको छ, जसले राम्रो कमाइ गर्छ, उसले गर्ने खर्च पनि सोही अनुपातको हुने हो।

जसले बढी नाफा गर्छ, उसैले बढी बोनस दिने कुरा सामान्य हो। अहिले बिमितलाई हामीले कुन बीमा कम्पनीले बढी दिन्छ भन्दा पनि रकमको सुरक्षा र दीर्घकालीन लाभ छ कि छैन भन्ने विश्वास दिनु भएको कर्णले बताए। उनका अनुसार बीमा भनेकै अनिवार्य बचत, जोमिख वहन गर्ने र भोलिका दिनमा एकमुष्ट रकमले कुनै गर्जो टार्न सकिन्छ भनेर गरिने एक प्रकारको विश्वास मात्रै हो। यसका निम्ति राम्रो व्यवस्थापन र दिगो सिस्टम भएको कम्पनी हुँदा खासै समस्या नपर्ने बुझाइ पनि कर्णको छ।

गत असोज पहिलो साता औपचारिक उद्घाटन गरेर व्यवसाय सुरु गरेको युनियन लाइफले ६ महिनामै तीन हजार एजेन्ट बनाइसकेको र पुससम्मकै प्रिमियम कलेक्सन २५ करोड रूपैयाँ पुगिसकेको दाबी गरेको छ। यो कम्पनीले बीमा सचेतना दिने र एजेन्टलाई तालिम दिने कामलाई प्राथमिकता दिएको छ। आफ्नो योजनाअनुसार र लक्ष्यभन्दा पनि राम्रोसँग प्रगति गर्न सकिने अपेक्षा गरेको छ। यो कम्पनीले पुराना कम्पनीसँगको प्रतिस्पर्धा र बजार ब्रान्डिङलाई खासै ठूलो चुनौतीका रूपमा नलिएको दाबी पनि गरेको छ।


खर्च व्यवस्थापन कठिन
नयाँ बीमा कम्पनीको सुरुसुरुमा व्यापार कम हुने र खर्च बढी हुने भएकाले यसको व्यवस्थापन मिलाउन कठिन हुने बताएका छन्। बजारमा चालू आवदेखि मात्रै आएका नयाँ नौवटा जीवन बीमा कम्पनीले आफ्नो ब्रान्ड र बजार बनाइसकेका नौवटै कम्पनीसँग प्रतिस्पर्धा गरिरहनुपरेको छ। नयाँ कम्पनी आएपछि बजार घट्ने चिन्ताले पुरानाले नै आक्रामक बजार विस्तार गर्न थालेका छन्। जसका कारण नयाँलाई अझै चुनौती थपिएको उल्लेख छ।

नयाँ कम्पनी एक वर्ष पनि नभएकाले बोनस दर घोषणा गर्न पाएका छैनन्, जसले गर्दा उपभोक्ता आकर्षित गर्ने आधार बलियो बनेको छैन। नयाँ बीमा पोलिसी ल्याउन र व्यवस्थित सञ्चालन प्रणाली यही हो भनेर चिनाउन पनि समय लाग्ने अवस्था छ। नयाँ बीमा कम्पनीले ठूलो पुँजी लगानी गरिरहेको भए पनि पुराना कम्पनीबाट आकर्षक पारि श्रमिक तोकेर कर्मचारी ल्याउँदा खर्चिलो हुने, नयाँ ल्याउन पनि तालिम दिएर प्रतिस्पर्धी बनाउन समय लाग्ने भएकाले खर्च व्यवस्थापन कठिन भइरहेको सम्बन्धित कम्पनीको भनाइ छ।

चालू आर्थिक वर्षमा ज्योति लाइफ, रिलायबल लाइफ, आईएमई लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ, युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र प्रभु लाइफ इन्सुरेन्स गरी नौ वटा कम्पनी थपिएका छन्। यसअघि काम गरिरहेका पुराना कम्पनीमा नेसनल लाइफ, नेपाल लाइफ, लाइफ इन्सुरेन्स, मेटालाइफ, एसियन लाइफ, गुराँस लाइफ, सूर्या लाइफ, प्राइम लाइफ इन्सुरेन्स र राष्ट्रिय बीमा संस्थान छन्।


बीमा बजार १० प्रतिशत
नेपालमा हाल कुल नेपालीमध्ये १० प्रतिशतले मात्रै बीमा गर्ने गरेको बीमा समितिको भनाइ छ। एक वर्षअगाडि जम्मा ७ प्रतिशत रहेको बीमा बजार अहिले १० प्रतिशत पुगेको छ भने अझै ९० प्रतिशतको बजार बाँकी नै रहेकाले पनि बीमा कम्पनीलाई काम गर्ने निकै फराकिलो दायरा रहेको समितिका अध्यक्ष चापागाईंले बताए। नेपालको बीमा बजारको वार्षिक वृद्धिदर निकै सकारात्मक रहेको पनि उनको बुझाइ छ।

नेपालमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा बीमा क्षेत्रले योगदान जम्मा २.०३ प्रतिशत मात्रै छ। यही तथ्यांक छिमेकी देश भारतमा साढे ३ प्रतिशत, चीनमा ४ प्रतिशत र विश्वकै टे«न्ड हेर्ने हो भने औसतमा साढे ५ प्रतिशत रहेको पनि उल्लेख छ।

नेपालमा रहेका सबै बीमा कम्पनीको प्रमुख बजार नै सहरी क्षेत्रमा सीमित छ। अहिले गाउँगाउँसम्म बीमा पुग्न सकेका छैनन्। गाउँमा पनि रेमिट्यान्स आउन थालेको र आर्थिक स्रोत विस्तारै बढ्न थालेकाले पनि बीमा पुग्नुपर्ने समितिको भनाइ छ।

समितिका अनुसार अबको आर्थिक वर्षबाट ग्रामीण क्षेत्रलाई दृष्टिगत गरेर नयाँ योजना ल्याउने र बीमा कम्पनीलाई गाउँ जान प्रोत्साहन गरिने जानकारी पनि चापागाईंले दिए। एक दशकदेखि बीमा कम्पनी नथपिएकाले चालू आवमा नौ कम्पनीलाई अनुमति दिइएको र अब तत्काल कुनै पनि नयाँ कम्पनी नआउने समितिको भनाइ छ। नयाँ कम्पनी सञ्चालनको अनुमति खुला गर्ने हो भने त सय वटासम्म पनि आउन सक्ने भएकाले भएकै कम्पनीलाई स्थापित गराउन पनि नयाँ कम्पनी थप नहुने दाबी समितिको छ।

नयाँ बीमा कम्पनीको वित्तीय अवस्था (दोस्रो त्रैमाससम्म)
कम्पनीको नाम

बीमा शुल्क आर्जन

खुद नाफा

युनियन लाइफ

६ करोड ४३ लाख

५ करोड ४८ लाख

रिलायबल लाइफ

७ करोड १५ लाख

६ करोड ३१ लाख

सिटिजन लाइफ

८ करोड ४८ लाख

५ करोड १४ लाख

ज्योति लाइफ

९ करोड ४२ लाख

८ करोड २ लाख

प्रभु लाइफ

६ करोड ८० लाख

३ करोड ७२ लाख

रिलायन्स लाइफ

७ करोड ४५ लाख

६ करोड ५४ लाख

सानिमा लाइफ

४ करोड २१ लाख

३ करोड ६० लाख

सन नेपाल लाइफ

८ करोड ५२ लाख

८ करोड १० लाख

आईएमई लाइफ

७ करोड १७ लाख

६ करोड १८ लाख

स्रोत : सम्बन्धित कम्पनीको वित्तीय विवरण

अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार