बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई असार मसान्तभित्रमा ३५९ स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएको छ । २४३ स्थानीय तहमा बैशाख मसान्त र बाँकी ११६ स्थानीय तहमा असार मसान्तभित्र शाखा खोलिसक्नुपर्ने राष्ट्र बैंकद्धारा बुधबार जारी निर्देशनमा उल्लेख छ ।
बैंक नपुगेका ३५९ वटा स्थानीय तहमा शाखा पुर्याउने भनिएकोमा बैंकहरुले २४३ स्थानमा मात्र शाखा खोल्ने प्रतिबद्धता गरेका थिए । राष्ट्र बैङ्कले बाँकी ११६ मा पनि शाखा खोल्न भनेपछि बैंकहरुले स्वेच्छिक रूपमा ४० वटा शाखा खोल्ने जनाएका थिए । बाँकी ७६ स्थानमा शाखा खोल्न कुनै पनि बैङ्क तयार नभएपछि राष्ट्र बैङ्कले ठाउँ तोकेरै बैंकहरुलाई शाखा खोल्न निर्देशन दिएको छ ।
राष्ट्र बैङ्कका अनुसार, खोटाङका ३, ओखलढुङ्गाको १, संख्वासभाको ३, सोलुखुम्बुको २, ताप्लेजुङको ३, उदयपुरको १, पर्साको १, रौतहटको १, सप्तरीको १, सर्लाहीको १, धादिङको २, काभ्रेको १, मकवानपुरको १ र सिन्धुलीको १ स्थानीय तहमा बैङ्क पुगेका छैनन् । त्यस्तै, सिन्धुपाल्चोकको १, मनाङको १, गुल्मीको १, रोल्पाको ४, रुकुमको २, दैलेखको २, डोल्पाको ४, हुम्लाको ३, जाजरकोटको ३, जुम्लाको १, कालिकोटको ६, मुगुको २, सल्यानको १, अछामको २, वैतडीको २, बझाङको ८, बाजुराको ६, डडेल्धुराको १, दार्चुलाको २, डोटी र कैलालीको १।१ स्थानीय तहमा बैङ्क पुगेका छैनन् ।
७६ वटामध्ये, नविल बैंक र एभरेष्ट बैंकले सबैभन्दा धेरै ७।७ वटा स्थानीय तहमा शाखा खोल्ने निर्देशन पाएका छन् भने बैङ्क अफ काठमाण्डू, कृषि विकास, हिमालयन, जनता, नेपाल बैङ्क, नेपाल एसबिआइ बैङ्कले थप ६।६ वटाका दरले शाखा खोल्ने निर्देशन पाएका छन् । त्यस्तै, सेञ्चुरी, सिभिल, लक्ष्मी, प्राइम, सिद्धार्थ र सनराइज बैंकले थप १।१ शाखा विस्तार गर्नेछन् भने सिटिजन्स, एनसीसी र इन्भेष्टमेन्ट बैंकले २।२ शाखा खोल्नेछन् । यसबाहेक, सानिमा, राष्ट्रिय वाणिज्य र माछापूछ्रेले ३।३ तथा कुमारीले ५ वटा थप स्थानीय तहमा शाखा खोल्ने जिम्मा पाएका छन् ।