आगामी जेठ २ र ३ गते राजधानीमा लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । लघुवित्तमा कारोबार गर्ने सदस्यहरूको अनुभव आदान–प्रदान गर्ने उद्देश्यले लघुवित्त कम्पनीहरूको आयोजनमा हुन लागेको सम्मेलनमा ६ सयभन्दा बढी लघुवित्तका सदस्य र १ सय पदाधिकारी तथा नीति निर्माता गरी ७ सय जनाको सहभागिता रहने आयोजक समितिले जनाएको छ । सम्मेलनका लागि शंकरमान श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय आयोजक समितिसमेत गठन गरिएको छ । सम्मेलनको संयोजन स्वावलम्बन विकास केन्द्रले गर्ने बताइएको छ ।
सम्मेलनसँग जोडिएका अपेक्षाहरु
सम्मेलनबाट लघुवित्त सदस्यको अनुभव आदान–प्रदान, उनीहरूको उत्प्रेरणाका साथै लघुवित्तमा रहेका विकृति र विसंगति अन्त्य गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ । साथै, लघुवित्तलाई व्यवस्थित बनाउन र राष्ट्रिय लघुवित्त नीति बनाउन समेत सहयोग मिल्ने आयोजक पक्षको विश्वास छ । सम्मेलनमा गाउँ–गाउँमा लघुवित्त ऋण लिएर सफल भएका महिलाहरूको उपस्थिति रहने र यसबाट लघुवित्त संस्थाप्रति हेर्ने दृष्टिकोणसमेत परिवर्तन हुने विश्वास लिइएको छ ।
यस्तो सम्मेलन नेपाल पहिलोपटक हुन लागेको हो । हाल नेपालमा ४१ लघुवित्त विकास बैंक, २५ गैर सरकारी संस्था र १ सयभन्दा बढी सहकारी संस्थाले लघुवित्त सेवा दिइरहेका छन् । लघुवित्त संस्थामार्फत १८ लाख परिवारमा ३ खर्ब ऋण प्रवाह भएको छ । लघुवित्तमा असुलीदर पनि ९९ प्रतिशत छ ।