Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकका कर्मचारीले अपनाउनुपर्ने सावधानीहरु

२०७४ चैत्र ८ गते

रामकिशोर मेहता । कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको हुन्छ । देशमा चाहिने बैंक तथा वित्तीय संस्थाको संख्या देशको आर्थिक क्षेत्रको विकास, जनतालाई बैंकसँग कारोबार गर्दाको फाइदा वा बेफाइदाको जानकारी, देशको जनसंख्या इत्यादी कुराहरुमा भर पर्दछ । साधारणतयाः बैंकमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने गुणहरु अरु क्षेत्रको कर्मचारीहरुमा हुनुपर्ने गुणहरु भन्दा केहि फरक रहेको हुन्छ । बैंक तथा वित्तीय संस्थाको प्रमुख कारोबारको रुपमा आर्थिक कारोबार रहेकोले यस्तो संस्थामा काम गर्ने कर्मचारीहरुले सदैव सावधानीपुर्वक आफनो कामहरु गर्नुपर्ने हुन्छ । 

नेपाल जस्तो कुनै पनि विकासोन्मुख मुलुकमा छाया अर्थतन्त्र सामानान्तर रुपमा रहेको हुन्छ । यसैगरि देशको विभिन्न क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएको भनी सामाचारहरु पछिल्लो दिनहरुमा सुनिँदै आएकोले यस्ता गैरकाुननी तवरले आर्जन गरेको सम्पतिलाई बैंकिङ च्यानलमार्फत कानुनसम्मत तरिकाले आर्जन गरेको देखाउन सक्ने प्रवल सम्भावना रहेको हुन्छ । यसवाहेक अन्य धेरै कारणहरुबट जोगिनको लागि बैंकको कर्मचारीहरु सावधानीपुर्वक काम गर्नुपर्ने हुन्छ ।

यहाँ बैंकको कर्मचारीहरु भनेको कुनै पनि बैंकको कुनै शाखामा कार्यरत कर्मचारीहरुलाई सामुहिक तथा व्यक्तिगत रुपमा बुझ्नुपर्दछ । बैंकको शाखामा कार्यरत कर्मचारीहरुलाई विभिन्न आधारमा विभिन्न्न भागमा निम्नअनुसार वर्गिकरण गर्न सकिन्छ ।
१। स्तरको आधारमा
अधिकृत स्तरको कर्मचारीहरु
सहायक स्तरको कर्मचारीहरु
तहविहिन कर्मचारीहरु
२। पदको आधारमा
शाखा प्रबन्धक
सहायक शाखा प्रबन्धक
साधारण कर्मचारीहरु
३। विभागको आधारमा
नगद विभागमा काम गर्ने कर्मचारीहरु
खाजान्ची
टेलरमा काम गर्ने कर्मचारीहरु
जनरल विभागमा काम गर्ने कर्मचारीहरु
ग्राहक सहयता कक्षमा काम गर्ने कर्मचारी
व्यवस्थापन सेवा विभागमा काम गर्ने कर्मचारी
कर्जा विभागमा काम गर्ने कर्मचारीहरु
रेमिट्यान्स तथा क्लियरिङ विभागमा काम गर्ने कर्मचारी इत्यादी ।

माथि उल्लेखित जुनसुकै तह, पद तथा विभागमा काम गर्ने कर्मचारीहरु भए पनि बैंकमा जहिले पनि सावधानीपुर्वक काम गर्नुपर्दछ । बैंकको भवनभित्र कुनै व्यक्ति ग्राहकको रुपमा आएर बैंकले प्रदान गर्ने विभिन्न सेवाहरुको बारेमा हेल्प डेस्कमा काम गर्ने कर्मचारी समक्ष जिज्ञाशा राखेदेखि नै बैंकको कर्मचारीहरुले सावधानी अपनाउन आवश्यक हुन्छ । बैंकको व्यवसाय भनेकै जोखिमको व्यवसाय भएकोले बैंकको प्रत्येक थप ग्राहकसँगै जोखिम पनि बढ्दै गईरहेको हुन्छ । यसको अर्थ, जोखिम कम गर्न नै नसकिने भन्ने हुँदैन । सहि ग्राहकको पहिचान गर्न सक्नु नै जोखिम कम गर्ने प्रक्रियाको पहिलो विन्दु हो । तसर्थ, हेल्प डेस्कमा काम गर्ने कर्मचारीले सही ग्राहक पहिचान गर्न नै पहिलो सावधानी अपनाउनुपर्ने हुन्छ । 

कर्मचारीले बैंकको नियमानुसार चाहिने सम्पुर्ण कागजातहरु भएको वा नभएको यकिन गरि यस शाखामा खाता खोल्नुको उद्देश्य, आवश्यकता तथा यहि शाखा रोज्नुको उचित तथा यथार्थपरक कारणको बारेमा यथेष्ट जानकारी नलिएसम्म खाता खोल्ने प्रक्रिया अगाडि बढाउनु हँुदैन । सामाजमा रहेको गलत तत्वलाई बैंकको ग्राहक बन्नबाट रोक्न सक्नु नै बैंकको संचालन जोखिम कम गर्न अपनाईने पहिलो तरिका हो । त्यसैले हेल्प डेस्कमा काम गर्ने कर्मचारी अनुभवी हुन आवश्यक हुन्छ । तर बैंकको शाखाहरुको यस विभागमा काम गर्ने कर्मचारी कम अनुभवी तथा इन्टर्नहरु हुन्छ । फलस्वरुप, गलत तत्वहरु ग्राहक बन्न सफल हुनु, एउटा व्यक्तिको चेक बुक अर्को व्यक्तिलाई सजिलै उपल्बध गराउनु, एउटा व्यक्तिको खातामा भएको रकमको बारेमा अन्य व्यक्तिलाई जानकारी गराउनु जस्ता कैयौँ गर्न नहुने कामहरु भईरहेको हुन्छ ।

नगद विभागमा टेलरमा बसेर काम गर्ने कर्मचारीहरु अझ बढी सावधान भई काम गर्नुपर्ने हुन्छ । चेकको भुक्तानी दिँदा सम्बन्धित व्यक्ति यकिन नभएसम्म तथा अन्य नियमहरुको पालना नभएसम्म चेकको भुक्तानी दिनु हुँदैन । एउटै व्यक्ति बारम्बार भुक्तानी लिन आएको खण्डमा झन बढी चनाखो हुनुपर्नेमा चिनैकै हो भनेर सजिलै भुक्तानी दिएकै कारण पनि बैंकलाई ठुलो आर्थिक नोक्सानी भएको पाईएको हुनाले यसतर्फ पनि उचित ध्यान दिन आवश्यक हुन जान्छ । कुनै ग्राहकले शंकाष्पद कारोबार गरेको जस्तो लागेमा शाखा प्रबन्धक तथा अन्य अधिकारीलाई तुरुन्तै जानकारी गराउनुपर्ने दायित्व टेलरमा बसेर काम गर्ने कर्मचारीको भएकोले शंकास्पद कारोबार चिन्न सक्ने क्षमताको विकास गर्ने दायित्व बैंकको हुन्छ । यसैगरि ग्राहकले जम्मा गर्न ल्याएको निक्षेपको श्रोत समेत खोल्न लगाई अनाधृकत रुपमा आर्जन गरेको सम्पतिलाई बैंकिङ च्यानलमा प्रवेश गर्नबाट रोक्न सक्नुपर्दछ ।

शाखामा खजान्चीको पदमा काम गरिरहेको कर्मचारी अझ बढी सावधान हुन आवश्यक छ । विभिन्न बैंकको विभिन्न शाखाहरुमा घटेको घटनाहरुले के देखाउँदछ भने खजान्चीले गरेको गल्तीको कारण बैंकको ठुलो रकम बाहिर गएको छ । सुनको लगानी तथा असुली गर्ने विशेष अधिकार पाएको खजान्चीको गलत मनशाय तथा लोभले शाखामा काम गर्ने सम्पुर्ण कर्मचारीको भविष्य नै अन्यौलमा पर्ने भएकोले यस सम्बन्धमा शाखा प्रबन्धकको विशेष भुमिका रहनुपर्दछ । यदि कुनै खाजान्ची कर्मचारीको नाताले बैंकबाट पाउने विदाहरु समेत नलिई काम गरेको पाईएमा तथा सुन कर्जाको पार्टिहरुलाई बैंकको टेलिफोन प्रयोग नगरि आफनो व्यक्तिगत मोबाईलबाट ताकेता गर्ने गरेको अवस्था भएमा खाजान्चीको नियतमाथि शंका गर्न ढिला गर्नुहुँदैन । यस सम्बन्धमा शाखा प्रबन्धकले खाजान्चीको शंकास्पद गतिविधिमा सहयोगीको भुमिका खेलेर तथा खजान्चीको पक्षमा समेत खुलेर वकालत गरेर अन्य सोझा तथा ईमान्दार कर्मचारीलाई जानी जानी खजान्चीले गरेको गलत कामको मतियार बनाउनु हुँदैन । यस सम्बन्धमा उचित सावधानी अपनाउनु सबै शाखा प्रबन्धकको अभिभावकीय कर्तव्य हो ।

कुनै पनि शाखामा काम गर्ने जुनसुकै तहको कर्मचारीले पनि बैंकको प्रचलित नियम विनियमको उल्लंघन हुने गरि आफुभन्दा माथिल्लो दर्जाको कर्मचारीले मौखिक रुपमा भनेकै आधारमा कुनै काम गर्नुहुँदैन र माथिल्लो तहको कर्मचारीले पनि आफ्नो पदको दुरुपयोग गरि अरुलाई कुनै गैरकाुननी काम गर्न लगाउनुहुँदैन । कर्मचारीहरुले आफुले नजानेको तथा आफनो अधिकार क्षेत्र मिचेर कुनै काम गर्नुहँुदैन । कुनै माथिल्लो तहको कर्मचारीले कसैबाट कुनै अनुचित लाभ व्यक्तिगत रुपमा लिई सोको भागिदारी अन्य कर्मचारी समेतलाई बनाउने सम्भावना जहिले पनि कायम नै रहने भएकोले यसतर्फ पनि सम्बन्धित कर्मचारी सावधान हुन आवश्यक हुन जान्छ ।

विषेशगरि कर्जा विभागमा काम गर्ने कर्मचारीले कर्जा स्वीकृत गर्ने कर्मचारीको मातहतमा रहेर काम गरेकै कारणले समेत कर्जा लगानी प्रक्रियामा उ सहभागी भएको मानिने भएकोले यस विभागमा काम गर्ने कर्मचारी अझ बढी सावधान हुन आवश्यक छ ।

रेमिटान्स विभागमा काम गर्ने कर्मचारी जहिले पनि नयाँ सफ्टवेयरको साथै थपिएको नयाँ रेमिट्यान्स एजेन्टको भुक्तानी प्रक्रियासँग अवगत हुन आवश्यक हुन्छ । रेमिट्यान्सको माध्यमबाट भुक्तानी भएको रकम फिर्ता गर्न सजिलो हुँदैन । किनभने बैंकको ग्राहकभन्दा बढी गैरग्राहक व्यक्तिहरुले यस माध्यमबाट भुक्तानी लगिरहेका हुन्छन् । तसर्थ, यस विभागको कर्मचारीको सानो गल्तीले बैंकको हिसाव मिलान हुन नसक्ने अवस्था सृजना हुन सक्छ ।

पछिल्लो समयमा बैंकहरुले बजारमा उपलब्ध नयाँ प्रविधि भित्राई ग्राहक बढाउने रणनीति अपनाएको कारणले यसको प्रयोग गर्ने बेलामा सम्बन्धित कर्मचारी सजग भई काम गर्न सकेन भने संस्थाको सुशासनमाथि नै गम्भिर प्रश्न उठ्न सकने सम्भावना रहेकाले सम्बन्धित कर्मचारी सावधान हुन अतिआवश्यक हुन जान्छ ।

कुनै एउटा शाखामा शाखा प्रबन्धकको पदमा पदस्थापन भई आएको कर्मचारीले बुझबुझारथ गरेको अवधिमा हेर्नुपर्ने कागजातहरु, परिपत्रहरु, आम्दानी तथा खर्चको भौचरहरु, कर्जाको धितोहरु तथा सुन कर्जाको धितोमा रहेको सुनको गरगहना, सोको तौल तथा शुद्यता मिहिन तरिकाले नहेरेको कारण पछि आफु लगायत शाखामा काम गर्ने सम्पुर्ण कर्मचारीलाई समेत असर गर्न सक्ने भएकोले नवनियुक्त शाखा प्रबन्धकले कसैको दबावमा नपरि बैंकको प्रचलित नियम कानुनसम्मत लगानी भएको कर्जा तथा अन्य कारोबारहरुको मात्र जिम्मेवारी लिनुपर्दछ ।

शाखामा कार्यरत सुरक्षक तथा सहयोगी कर्मचारीहरु समेत आआफनो काम सावधानीपुर्वक गर्नुपर्दछ । कर्मचारीले आफनो वर्तमान पदीय मर्यादा उल्लंघन हुने गरि कुनै काम गर्नुहुँदैन । 

अन्तयमा के भन्न सकिन्छ भन्ने, बैंकमा कार्यरत सम्पुर्ण कर्मचारीहरुले आफुले गर्नुपर्ने कामहरु निष्ठापुर्वक तथा यथेष्ठ सावधानीपुर्वक गरेको अवस्थामा बैंकमा रहेको विभिन्न प्रकारको जोखिमहरुलाई निर्मुल नै पार्न नसकिए पनि कम पक्कै पनि गर्न सकिन्छ । बैंक भनेको आर्थिक क्रियाकलाप हुने संस्था भएकोले कसैले पनि कसैमाथि विश्वास गर्नु हुँदैन ।  बैंकको नीति निर्माण तहमा काम गर्ने कर्मचारीहरुले समेत बैंकको सम्रग हितलाई ध्यानमा राखेर कुनै निर्णय गर्नुपर्दछ । आफनो व्यक्तिगत हितभन्दा संस्थाको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्दछ । तसर्थ, सबै कर्मचारीहरु अति नै सावधान भई काम गरेको खण्डमा बैंकको संस्थागत सुशासनमा सुधार हुन गई सामाजमा बैंकप्रति सकारात्मक दृष्टिकोण निर्माण भई लगानीकर्ताहरुको सम्पति वृद्घि हुन टेवा पुग्न सक्छ ।