प्रभु बैंक लिमिटेडको कोहलपुर शाखा, भेरी शीत भण्डार सहकारी संस्था लि. र यु.के.एड सक्षमको सहकार्यमा कृषि भण्डारण कर्जाको सुरुवात गरिएको छ । सोमबार (चैत्र ५ गते) कोहलपुर क्षेत्रमा संचालनमा रहेको भेरी शीत भण्डार सहकारी संस्था लि.मा आबद्ध कृषकलाई कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी प्रदान गर्ने उद्देश्यले कृषि भण्डारण कर्जा (Warehouse receipt loan) को उद्घाटन गरिएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी यस कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले यो कृषि भण्डारण कर्जा यस क्षेत्रकै नविनतम् सेवा भएको र यसले यस क्षेत्रका कृषकहरुलाई साहु महाजनको चर्को व्याजबाट सुरक्षा प्रदान गरी आर्थिक आवश्यकता परिपुर्ति गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।
प्रभु बेैंकले देशका विभिन्न भागहरुमा छरिएर रहेका आफ्ना विभिन्न शाखाहरु मार्फत बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै देशका भौगोलिक अवस्थितिका आधारमा उक्त क्षेत्रका जनताका जीवनस्तर उकास्न विभिन्न खालका कर्जा सेवा स्वंय तथा यु.के.एड सक्षमको सहकार्यमा निरन्तर संचालन गर्दै आईरहेको छ ।
बाँके तथा बर्दिया क्षेत्र खासगरी कृषिमा आधारित ग्रामिण क्षेत्र भएको र यस क्षेत्र आलु जस्ता तरकारीको पकेट क्षेत्र मानिएको हुँदा यस क्षेत्रमा संचालनमा रहेको भेरी शीत भण्डार सहकारी संस्था लि.मा आबद्ध कृषकलाई मध्यनजर राख्दै कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी प्रदान गरिने कृषि भण्डारण कर्जा (Warehouse receipt loan) सर्व–सुलभ ढंगले प्रदान गर्न प्रभु बैंक लिमिटेड, कोहलपुर शाखा, भेरी शीत भण्डार सहकारी संस्था लि. यु.के.एड सक्षमको सहकार्यमा शुरु गर्न लागिएको कृषि भण्डारण कर्जाको सुरुवात गरिएको व्यहोरा प्रभु बैंक लि., कोहलपुर शाखाका शाखा प्रबन्धक बिकेश कुमार श्रेष्ठले जानकारी दिए ।
यस कार्यक्रममा ९५ जना भन्दा बढी विभिन्न महानुभाव तथा कृषक र कृषि पेशामा आबद्ध व्यापारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


