बैंकिङ खबर । चालु आर्थिक वर्षको शुरुवाती महिनाहरुमा लगातार ओरालो लागेको रेमिट्यान्स चालु आर्थिक वर्षको सात महिनामा भने वृद्धि भएको छ । समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १.७ प्रतिशतले वृद्धि भई ४ खर्ब १ अर्ब ३५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो ।
यसै गरी खुद ट्रान्सफर आयमा भने ३ प्रतिशतले कमी आई ४ खर्ब ६० अर्ब ८५ करोडमा सीमित भएको छ । राष्ट्र बैंकले आइतबार नेपालको वर्तमान वित्तीय स्थिती सार्वजनिक गर्दै अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८.३ प्रतिशतले बढेको थियो । उच्च आयातका कारण शोधनान्तर घाटा भने बढिरहेको छ । राष्ट्र बैंकको रिपोर्ट अनुसार माघमा शोधनान्तर घाटा १८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत बर्ष ३६ अर्ब ९५ करोड रुपैयाँ बचत थियो । माघसम्म कुल आयात १८.९ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । निर्यात भने १२.९ प्रतिशतले बढेर ४७ अर्ब ६२ करोड रुपैयाँ छ ।

