सरकारले गत वर्षको भूकम्पपछि ध्वस्त निजी तथा सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि आठ खर्ब ३८ अर्बको पञ्चवर्षीय योजना प्रस्तुत गरेको छ । बिहीबार साँझ संसद् बैठकमा प्रधामन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट तयार भूकम्पपछिको पुनर्निर्माण तथा पुर्नस्थापनाको पञ्चवर्षीय योजना प्रस्तुत गरेका हुन् ।
प्रधानमन्त्री ओलिले संसदमा प्रस्तुत गरेको यस योजनामा निजी आवाससहितको सामाजिक क्षेत्रमा सवैभन्दा बढी ६ खर्ब ४५ अर्ब बजेट आवश्यक पर्ने जनाइएको छ । त्यसैगरी पुनर्निर्माणका लागि उत्पादक क्षेत्रमा एक खर्ब ६ अर्ब, पूर्वाधार क्षेत्रमा ६१ अर्ब र अन्तरसम्बन्धित क्षेत्रमा २६ अर्ब बराबरको बजेट आवश्यक पर्ने प्रस्तुत योजनामा उल्लेख गरिएको छ ।
सरकारले सार्वजनिक गरेको योजनामा दुई वर्षभित्र सबै निजी भवन बनाइसक्ने र तीन वर्षभित्र कलेज अस्पताल र सरकारी भवन निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । त्यसैगरी पाँच वर्ष सांस्कृतिक ऐतिहासिक धरोहरको निर्माण सक्ने लक्ष्यसहित यो परियोजना सरकारले ल्याएको हो । यस योजनाले पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि विभिन्न २० वटा क्षेत्रगत एवम् विषयगत योजनाको खाका प्रस्तुत गरेको छ ।
यसको प्रथम खण्डमा समग्र योजनाको संक्षिप्त खाका प्रस्तुत गरिएको छ भने द्धितिय खण्डमा उल्लेखित विभिन्न २० वटा योजनाको खाकाहरु प्रस्तुत गरिएको छ । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा राष्ट्रपतिबाट वैशाख २६ गते संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापना कार्यलाई योजनाबद्ध ढंगबाट अघि बढाउन पञ्चवर्षीय योजना कोशेढुङ्गा साबित हुने दाबी गरे ।