रमेशकुमार पोख्रेल / नेपालको वित्तीय क्षेत्र कहिले गंभिर तरलता संकटको मारले आक्रान्त बन्ने त कहिले लगानी योग्य रकम बढी भई भारी रकम निष्कृय रहने अधिक तरलताको स्थितिबाट गुज्रने गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक अधिकारीको हैसियतले मौद्रिक नीति मार्फत विभिन्न उपकरणहरुको प्रयोग गर्दै तरलता व्यवस्थापन गर्दै आएको छ । खुला बजार संचालन प्रक्रिया अन्तर्गत रिपो, रिभर्स रिपो, सोझै बिक्री, सोझै खरीद, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्र को माध्यमबाट बजारमा तरलताको प्रवाह तथा बजारबाट तरलताको प्रशोचन गर्ने काम गर्दै आएको छ । यसबाट वित्तीय बजारमा भएको तरलतालाई उपयुक्त स्तरमा राखी वित्तीय स्थायित्व र मुल्य स्थिरता कायम गर्न मद्दत पुगेको छ । स्थायी तरलता सुविधा, अनिवार्य मौज्दात अनुपात, वैधानिक तरलता अनुपात, बैंकदर जस्ता नीतिगत दरको प्रयोगका साथै अन्य नीतिगत मार्ग निर्देशनबाट समेत तरलता व्यवस्थापन गर्दै आएको छ । माथि उल्लेखित उपकरणहरू मध्ये तरलता प्रशोचनको लागि रिभर्स रिपो,सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ भने तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ ।
रिपो
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको ने.रा.बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको
समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।
बोलकबोल प्रक्रियाबाट निष्कासन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ ।रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नु अघि ती बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आप्mनो स्वामित्वमा रहेको टे«जरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ । भुक्तानी मितिका दिन रिपो रकम फिर्ता भुक्तानी भइसके पश्चात् धितो स्वरूप राखेको सुरक्षणपत्र सम्बन्धित बोलकर्तालाई फिर्ता गरिन्छ ।
रिभर्स रिपो
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको ने.रा. बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ ।
बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ । तरलता प्रशोचन गर्ने प्रयोजनार्थ प्रयोग हुने रिभर्स रिपो उपकरणको बोलकबोल आह्वान तथा निष्कासन गर्दा नेपाल राष्ट्र बैंकले आप्mनो स्वामित्वमा रहेको ट्रेजरी बिल धितो स्वरूप राख्नु पर्ने व्यवस्था छ । रिभर्स रिपो भुक्तानी मितिमा निष्कासन मितिका दिन सफल बोलकर्ताको खाताबाट खर्च गरी लिएको रकम सोही खाता जम्मा गरी एकमुष्ट साँवा ब्याज रकम भुक्तानी गर्ने गरिन्छ ।
रिपो तथा रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन इच्छुक संस्था र यस बैंक बीच अनिवार्यरूपमा मास्टर रिपर्चेज एग्रीमेण्टभएको हुनुपर्दछ । अन्यथा रिपो र रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन पाइँदैन ।
सोझै बिक्री
बैंकिङ प्रणालीमा संरचनात्मक प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट दीर्घकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण “सोझै विक्री” हो । नेपाल राष्ट्र बैंकको स्वामित्वमा रहेको ट्रेजरी बिलको बाँकी भुक्तानी अवधिको लागि “सोझै बिक्री” उपकरण निष्कासन गरिन्छ । निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको खाताबाट बाँडफाँट अनुसारको रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ ।
सोझै बिक्री उपकरणको निष्कासन बोलकबोल प्रक्रियाबाट हुने गर्दछ । बोलकबोल मूल्यमा गर्नु पर्दछ भने एकै संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सक्दछन् । उपकरणको निष्कासनमा बहु–मूल्य विधिको प्रयोग हुने गर्दछ । सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी मूल्य बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ ।
नेपाल राष्ट्र बैंकले सोझै बिक्री उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खाताबाट बाँडफाँट अनुसारको रकम (डिस्काउण्ट रकम कटाएर बाँकी रकम) खर्च गरी लिन्छ । नेपाल राष्ट्र बैंकले सफल बोलकर्ताबाट बाँडफाँट अनुसारको रकम निजहरूको खाता खर्च गरी लिए पश्चात् आप्mनो स्वामित्वमा रहेकोट्रेजरी बिलको स्वामित्व सम्बन्धित बोलकर्ताको नाममा हस्तान्तरण गरिदिन्छ । भुक्तानी मितिका दिन सोझै बिक्री रकमको भुक्तानी भए पश्चात् सफल बोलकर्ताको नाममा हस्तान्तरण भएको टे«जरी बिलको स्वामित्व स्वतः समाप्त हुन्छ । भुक्तानी मितिमा निष्कासन मितिका दिन सम्बन्धित बोलकर्ताको खाताबाट खर्च गरी लिएको रकम र सोको डिस्काउण्ट रकम एकमुष्ट सोही खाता जम्मा गरी फिर्ताभुक्तानी गर्ने गरिन्छ ।
सोझै खरिद
बैंकिङ प्रणालीमा संरचनात्मक प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण“सोझै खरिद” हो । यो उपकरणको निष्कासनमा नेपाल राष्ट्र बैंकले तोकिएको दिन भित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाहरूबाट खरिद गर्दछ । बोलकबोलमा सफल बोलकर्ताको टे«जरी बिल नेपाल राष्ट्र बैंकले खरिद गरी सो वापत हुने रकम ती बोलकर्तालाई भुक्तानी गर्ने भएकोले बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ ।
सोझै खरिद उपकरण बोलकबोल प्रक्रियाबाट निष्कासन हुन्छ । बोल आह्वान गर्दा तोकिएको दिन भित्र भुक्तानी हुने आप्mनो स्वामित्वमा रहेका टे«जरी बिल बिक्रीको लागि बोल गर्नुपर्नेभन्ने ब्यहोरा खुलाई बोल आह्वान गरिन्छ । बोल गर्दा मूल्यमा गर्नु पर्दछ । यसमा बहु–मूल्य विधिको प्रयोग हुन्छ । बोलवालाले आह्वान रकमको सीमासम्म एउटा सिरिजको ट्रेजरीबिलको लागि एउटा मात्र बोल गर्नु पर्दछ । बोलकबोल मूल्यमा गर्नुपर्ने भएतापनि बोल गरिएकोमूल्यको आधारमा वार्षिक प्रतिफल दरनिर्धारण गरिन्छ । यो उपकरणको बोलकबोलमा सहभागी बैंक तथा वित्तीयसंस्थाहरूमध्ये निर्धारित सबैभन्दा बढी वार्षिक प्रतिफल दरबोल गर्नेलाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ ।
सोझै खरिद उपकरणको बोलकबोलबाट खरिद गरिएको ट्रेजरी बिलअनुसार भुक्तानी गर्नुपर्ने रकम नेपाल राष्ट्र बैंकले बोलकबोलमासफल बोलकर्ताको खातामा जम्मा गरीदिन्छ । सोझै खरिद उपकरणको निष्कासनमा ट्रेजरी बिल बिक्री गर्ने बैंकतथा वित्तीय संस्थाहरूबाट बिक्री गरिएका ट्रेजरी बिलको स्वामित्वनेपाल राष्ट्र बैंकमा हस्तान्तरण हुन्छ । भुक्तानी मितिका दिन खरिद गरेका ट्रेजरी बिलको भुक्तानी प्राप्त भए पश्चात् तीट्रेजरी बिलमा बैंकको स्वामित्व स्वतः समाप्त हुन्छ । बोलकबोलबाट नेपाल राष्ट्र बैंकले खरिद गरेका ट्रेजरी बिल रकमको भुक्तानी खरिद गर्दाको बखतमा नै सफलबोलकर्तालाई दिइन्छ ।सोझै खरिद बोलकबोलबाट नेपाल राष्ट्र बैंकले खरिद गरी लिएको ट्रेजरी बिलको रकम सो उपकरणको निष्कासन मितिका दिन आप्mनोलगानी खातामा जम्मा गरी हिसाब मिलान गर्दछ ।
निक्षेप संकलन
बैंकिङ प्रणालीमा असाधारण प्रकृतिको अधिक तरलताको स्थितिदेखिन आएमा खुला बजार कारोबार सञ्चालन समितिकोनिर्णयानुसार बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्नप्रयोग हुने उपकरण “निक्षेप संकलन” हो । बोलकबोलमा सफल बोलकर्ताकोे खाताबाट रकम झिकी नेपाल राष्ट्र बैंकले निक्षेपकोरूपमा राख्दछ । जसबाट बैंकिङ प्रणालीमा रहेको अधिक तरलतातोकिएको समयावधिको लागि प्रशोचन हुन्छ ।
निक्षेप संकलन उपकरणको निष्कासन बोलकबोल प्रक्रियाबाट गरिन्छ । यो उपकरणको बोलकबोल ब्याजदरमा गर्नु पर्दछ । एकै संस्थाले अलग–अलग वा बहु–ब्याजदरमा पनि बोल गर्नसक्दछन् । निष्कासनमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ । ब्याजदर बोलकबोलबाट निर्धारण हुन्छ । बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ ।
नेपाल राष्ट्र बैंकले यस उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खाताबाट बाँडफाँट अनुसारको निक्षेपरकम खर्च गरी लिने गर्दछ ।बोलकबोलबाट संकलन गरिएको निक्षेप रकमसम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी भएकोले सोरकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइदैन । तर, वैधानिक तरलता अनुपात तथा तरलता अनुपातमा भने गणना गर्न पाईन्छ । भुक्तानी मितिमा निष्कासन मितिका दिन सम्बन्धित बोलकर्ताको खाताबाट खर्च गरी लिएको निक्षेपरकम र निर्धारित ब्याजदरले हुने ब्याज रकम सोही खातामा जम्मागरी फिर्ता भुक्तानी गरिन्छ ।
नेपाल राष्ट्र बैंक ऋणपत्र
बैंकिङ प्रणालीमा संरचनात्मक प्रकृतिको अधिक तरलताको स्थिति देखिन आएमा ने.रा.बैंकको सञ्चालक समितिको स्वीकृतिमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण “नेपाल राष्ट्र बैंक ऋणपत्र” हो । यस उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खाताबाट रकम झिकी नेपाल राष्ट्र बैंकले अलग्गै खातामा जम्मा गरी राख्दछ । जसबाट बैंकिङ प्रणालीमा रहेको अधिक तरलता तोकिएको समयावधिको लागि प्रशोचन हुन्छ ।
नेपाल राष्ट्र बैंक ऋणपत्रको निष्कासन बोलकबोल प्रक्रियाबाट गरिन्छ । बोलकबोल ब्याजदरमा गर्नु पर्दछ । एकै संस्थाले अलग–अलग वा बहु–ब्याजदरमा पनि बोल गर्न सक्दछन् । यसकोे निष्कासनमा एकल–ब्याजदर विधिको प्रयोग गरिन्छ ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुन्छ ।बोलवालाले कबोल गरेको ब्याजदरलाई सानो देखि ठूलो क्रममा मिलाएर राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेका बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा मुनिका सबै बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिने र समान ब्याजदर बोल गर्ने बोलवालाहरूको रकम समावेश गर्दा कुल निष्कासित रकम भन्दा बढी हुने भएमा समानुपातिक रूपमा बाँडफाँट गरिन्छ ।
नेपाल राष्ट्र बैंकले यस ऋणपत्रको बोलकबोलमा सफल बोलकर्ताको खाताबाट बाँडफाँट अनुसारको रकम खर्च गरी लिने गर्दछ । बोलकबोलबाट संकलन भएको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइँदैन । तर, वैधानिक तरलता अनुपात तथा तरलता अनुपातमा भने गणना गर्न पाईन्छ ।
व्याजदर करिडोर अन्तर्गत तरलता व्यवस्थापन
केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याजदर करिडोर मार्फत् तरलता प्रवाह तथा प्रशोचन गर्ने व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गत तरलता प्रवाह गर्नका लागि दुई हप्ता अवधिको रिपो उपकरण र तरलता प्रशोचन गर्नका लागि दुई हप्ता अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्नेछ ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो तरलताको अवस्थाको आँकलन गरी नेपाल राष्ट्र बैंकले जारी गरेका माथि उल्लेखित उपकरणहरुमा सहभागिता जनाउँदै आफ्नो तरलता व्यवस्थापन गर्दछन् । निक्षेप तथा कर्जाको व्याजदरको समायोजन, तरलता अनुपातको माध्यमबाट, कर्जा निक्षेप अनुपात लगायत, अन्तर बैंक कारोवार, तरलता अनुगमनका लागि व्यवस्थापन सूचना प्रणालीको प्रयोग गरी तरलताको समस्यालाई सम्वोधन गर्दछन् ।