नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत नभएका कम्पनीहरूले कारोबार गर्ने ओभर दी काउन्टर (ओटीसी बजार) मा सेयर खरिद बिक्री गर्ने कम्पनीको संख्या बढ्दै गएको छ । एक महिनाको अवधिमा बजारमा सात कम्पनीले सेयर कारोबार गरिसकेको छ भने अन्य कम्पनी पनि कारोबारका लागि पाइपलाइनमा रहेका छन् । कम्पनी रजिस्ट्रार कार्यालयले नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीहरूले सेयर कारोबार अनिवार्य रूपमा ओटीसी बजारमार्फत नै गर्नुपर्ने निर्देशन दिएपछि कम्पनीहरूलाई दबाब परेको हो ।
ओटीसी बजारमा हालसम्म मारुती सिमेन्ट कम्पनी, नेपाल हाइड्रो डेभलभर कम्पनी, काठमाडौं फरेस्टी कलेज, ग्रोमोर मर्चेन्ट बैंकर, हुलास वायर इन्डस्ट्रिज, युनाइटेड मोदी हाइड्रोपावर र सियान सिड सर्भिस कम्पनीको कारोबार भएको छ । कारोबार भएका उक्त कम्पनीबाट नेपाल स्टक एक्सचेन्जले कमिसन र करसहित २३ लाख रुपैयाँ आम्दानी गरिसकेको छ । त्यस्तै, बजारमा कारोबारका लागि रादी विद्युत् कम्पनी तथा रहिराङ हाइड्रोपावर कम्पनीले आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन् ।
ओटीसी बजारमा मारुती सिमेन्ट कम्पनीको सबैभन्दा पहिला कारोबार भएको थियो । उक्त कम्पनीको ६ लाख ९३ हजार २ सय कित्ता सेयर खरिद बिक्री भएको थियो । त्यस्तै, नेपाल हाइड्रो डेभलभर कम्पनीको ६० हजार कित्ता सेयर खरिद बिक्री भएको थियो भने काठमाडौं फरेस्टी कलेज पब्लिक कम्पनीको १ सय ८४ कित्ता सेयर खरिद भएको थियो । ग्रोमोर मर्चेन्ट बैंकरको ७४ हजार कित्ता, हुलास वायर इन्डस्ट्रिजको १ हजार कित्ता, युनाइटेड मोदी हाइड्रोपावरको ६ लाख ५१ हजार ७ सय १३ कित्ता, सियान सिड सर्भिसको १० हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।