बैंकिङ खबर । एनआईसी एशिया बैंकसँग कुनै कारोबार नगर्ने बैंकर्स संघको निर्णय बैंकिङ क्षेत्रका लागि सुखद कुरा नभएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बताएका छन् । उनले वाणिज्य बैंकहरुबीचमा देखिएको यो समस्या धेरै दिन रहनु नहुने बताए । ‘बैंकहरुबीचको आपसी सहमतिमा नै यो समस्या छिटै सल्टिनुपर्छ,’ उनले भने ।
बैंक तथा वित्तीय संस्थामा संकलित सर्वसाधारणको निक्षेपले उचित व्याजदर पाउनुपर्ने भन्दै उनले अहिले बैंकिङ व्याजदर बढिरहेको अवस्था स्वागतयोग्य रहेको बताए । उनले भने, ‘विगतमा निक्षेपकर्ताले बैंकबाट उचित व्याज नपाएको अवस्था थियो । तर, अहिले बैंकहरुले व्याजर बढाएका छन् । यो स्वागतयोग्य छ ।’
नेपाल राष्ट्र बैंकले सँधै बैंकहरुबीचको स्वस्थ प्रतिष्पर्धा चाहेको भन्दै थापाले मुलुकमा कुनै किसिमको सिण्डिकेट हुन नहुने बताए ।
व्याजदर नबढाउने भनि सबै बैंकहरुले गरेको अपसी समझदारी विपरीत गएको भन्दै बैंकर्स संघले एनआईसी एशिया बैंकसँग कारोबार नगर्ने निर्णय गरेको थियो । २८ वटै वाणिज्य बैंकहरुले बचत खाताको व्याजदर ८ प्रतिशत र मुद्धति खाताको व्याजदर ११ प्रतिशतभन्दा बढी नपुर्याउने प्रतिवद्धता गरेका थिए । तर बिहीबारबाट फेरि बचतको ब्याज १० प्रतिशत पुर्याउँदै मुद्दतिमा १२ प्रतिशत ब्याज दिने सुचना सार्वजनिक गरेपछि बैंकर्स संघले आकस्मिक बैठक बोलाएर एनआईसी एशिया बैंकसँग अन्तरबैंक कारोबार र विदेशी मुद्राको कारोबार नगर्ने निर्णय गरेको थियो ।

