बैंकिङ खबर । यही फागुन २७ गते काठमाडौँमा 'समृद्धिको बाटो : वृहत् आर्थिक कार्यक्रम'को आयोजना हुने भएको छ । मिडिया इन्टरनेशनलको नेतृत्वमा भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको हलमा आयोजना गरिने कार्यक्रममा उद्यमशीलता गर्न चाहने एवम् कृषि, पर्यटनजस्ता व्यवसायिक विषय अध्ययन गरेका विद्यार्थीहरुलाई लक्षित गरिएको कार्यक्रमका संयोजक माधव निर्दोषले बताए । आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म संचालन हुने कार्यक्रममा प्रवेश गर्न कुनै किसिमको शूल्क नलाग्ने बताइएको छ ।
कार्यक्रममा विपन्न वर्गमा जन्मिएर पनि आफ्नै लगन र मिहिनेतले उद्यमी बनेका पाँच जना उद्यमीहरुको सफलतामा आधारित १३ मिनेटको डकुमेन्ट्री पनि देखाइने छ । पुँजी, शिक्षा तथा प्रविधिका बारेमा ज्ञान नभएका व्यक्तिहरुले समेत उद्यमशीलता हासिल गरेको यस सफलताको कथाबाट युवाहरुलाई उद्याशीलतातर्फ लाग्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
निजी क्षेत्र, बैंकिङ क्षेत्र, नेपाल राष्ट्र बैंक, कृषि विकास मन्त्रालय एवम् सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिती रहने कार्यक्रममा नेपाललाई समृद्ध बनाउनका लागि कस्तो मार्ग अपनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिनेछ । कार्यक्रम नेपालीहरुको जीवनस्तर उकास्नका लागि राज्यले कस्ता कदम चाल्ने भन्ने विषयमा केन्द्रित रहने आयोजकले जनाएको छ ।