May 12th, 2016

लघुवित्त बैँकहरुका लागि नयाँ निर्देशिका आउँदै, पुँजीवृद्धिको तयारी

economicनेपाल राष्ट्र बैँकले लघुवित्त बैँकहरुका लागि नयाँ निर्देशिका ल्याउने जनाएको छ । मौद्रिक नीतिबमोजिम लघुवित्त बैँकहरुको पुँजी वृद्धिको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । छिट्टै पुँजीवृद्धिको निर्देशन दिने तयारी भइरहेको राष्ट्र बैँक स्रोतले जनायो । 

लघुवित्त बैकको कामकारबाही नजिकबाट नियालिरहेको राष्ट्र बैँकको दाबी छ । लघुवित्त बैंकको ब्याजदर कसरी कम गर्न सकिन्छ भन्नेबारेमा राष्ट्र बैंकले निरन्तर रूपमा गृहकार्य गरिरहको बताइएको छ । विगतमा २६/२७ प्रतिशत रहेको लघुवित्त बैंकको ब्याजदर रनष्ट्र बैँककै निर्देशनमा औसत २०/२१ मा झरेको छ । त्यसलाई पनि घटाएर १६/१७ प्रतिशतमा झार्ने प्रयास राष्ट्र बैंकले गरिरहेको छ ।

सरकारले गत बिहीबार (२३ गते) लघुवित्त बैंकहरूको अधिकतम ब्याजदर १८ प्रतिशत कायम गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्र बैँकले भने यसरी ब्याजदरमा सीमा तोक्नु उदार आर्थिक नीतिविपरीत हुने भएकाले निक्षेप तथा कर्जाको ब्याज अन्तर (स्प्रेड) मार्फत नियन्त्रण गर्ने जनाएको छ ।   

बैंक तथा वित्तीय संस्थाबाट कम ब्याजदरमा सापटी लिएर महँगो ब्याजदरमा ऋण प्रवाह गर्दै आएको आरोप लघुवित्त बैंकहरूलाई लाग्दै आएको छ । उक्त आरोपका आधारमा ब्याजदर कम गर्न लघुवित्त बैंकहरूलाई आन्तरिक रूपमा निर्देशन दिंदै आएको छ । 

अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त बैंकको काम कारबाही र उद्देश्य नै फरक भएकाले उनीहरूलाई सोहीअनुरूप व्यवहार गर्नुपर्ने तर्क राष्ट्र बैँकको छ । सोही कारण चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई पुँजी वृद्धिको निर्देशन दिदाँ पनि लघुवित्त बैंकलाई नदिइएको राष्ट्र बैँकको भनाइ छ ।