Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आठ बैंकको खराब कर्जा एक प्रतिशतभन्दा कम

२०७४ फाल्गुन २२ गते

रुपा कोइराला । खराब कर्जा अनुपातका  हिसाबले नेपालका अधिकांश बैंकहरु जोखिममुक्त देखिएका  छन् ।  अन्तर्राष्ट्रिय मापदण्ड अनुसार, दुई प्रतिशतभन्दा कम खराब कर्जा भएका बैंकहरु जोखिमरहित मानिन्छन् । नेपालमा हाल संचालनमा रहेका २८ वाणिज्य बैंकमध्ये, आठ वटाको खराब कर्जा एक प्रतिशतभन्दा पनि तल रहेको छ । यसबाहेक १३ वटा बैंकको खराबकर्जा दुई प्रतिशतभन्दा कम रहेको छ । एनसीसी बैंकमा सबैभन्दा धेरै खराब कर्जा रहेको छ ।   

कम खराबकर्जा भएका आठ बैंकहरु
२८ वटा वाणिज्य बैंकमध्ये, सबैभन्दा कम खराब कर्जा सानिमा बैंकको रहेको छ । पुस मसान्तको तथ्यांकअनुसार, बैंकको खराब कर्जा शून्य दशमलव ०३ प्रतिशत मात्रै रहेको छ । छ महिनामा ७४ लाख २४ हजार रुपैयाँ खराबकर्जा उठाएको बैंकको प्रोभिजनमा ११ करोड २७ लाख ४७ हजार रुपैयाँ रहेको छ । 

नेपाल एसबिआई बैंकको निष्कृय कर्जा शून्य दशमलव १३ प्रतिशत रहेको छ । यो अवधिमा ८९ लाख ६३ हजार रुपैयाँ मात्रै खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ११ करोड ५६ लाख ४६ हजार रुपैयाँ राखेको छ । स्टान्डर्ड चार्टर्ड बैंकको निष्कृय कर्जा शुन्य दशमलव १७ प्रतिशत रहेको छ । एक वर्षको अवधिमा बैंकले खराब कर्जा शून्य दशमलव २६ प्रतिशतबाट शुन्य दशमलव १७ प्रतिशतमा झारेको हो । त्यस्तै, एभरेष्ट बैंकको खराब कर्जा शून्य दशमलव २५ प्रतिशत रहेको छ । पुस मसान्तसम्ममा एक करोड १८ लाख ३४ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा आठ करोड दुई लाख ९४ हजार रुपैयाँ राखेको छ ।

यता, एनआईसी एशिया बैंकको  खराब कर्जा शून्य दशमलव २६ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामा १० करोड २६ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ३० करोड ११ लाख ११ हजार रुपैयाँ राखेको छ । माछापूच्छ्रे बैंकको निष्कृय कर्जा शून्य दशमलव ३३ प्रतिशत रहेको छ । पुस मसान्तसम्मको अवधिमा पाँच करोड ५२ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १४ करोड १४ लाख रुपैयाँ राखेको छ । 

त्यसैगरी , मेगा बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९६ प्रतिशत रहेको छ । यो अवधिमा ११ करोड १६ लाख रुपैयाँमा राइट ब्याक गरेको बैंकले २० करोड ८८ लाख ९४ हजार रुपैयाँ प्रोभिजनमा राखेको छ । सेञ्चुरी कमर्सियल बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५२ प्रतिशतले बढेर शुन्य दशमलव ९९ प्रतिशत पुगेको छ । यो अवधिमा ११ करोड १२ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १८ करोड १९ लाख ३६ हजार रुपैयाँ राखेको छ ।

अधिकांश बैंकको खराब कर्जा दुई प्रतिशतभन्दा कम
अधिकांश बैंकको खराबकर्जा एक प्रतिशत र दुई प्रतिशतको बीचमा रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको खराबकर्जा एक दशमलव १२ प्रतिशत रहेको छ । यो अवधिमा ३२ करोड ८५ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकको प्रोभिजन ४६ करोड ११ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । पुस मसान्तसम्मको तथ्यांक हेर्दा नविल बैंकको खराबकर्जा एक दशमलव १३ प्रतिशत रहेको छ । यो अवधिमा आठ लाख तीन हजार रुपैयाँ मात्रै खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा २० करोड नौ लाख ३१ हजार रुपैयाँ राखेको छ । एनएमबि बैंकले आफ्नो निष्कृय कर्जालाई एक दशमलव ६७ प्रतिशतबाट एक दशमलव २० प्रतिशतमा झारेको छ । २५ करोड ६५ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा नौ करोड ५६ लाख रुपैयाँ राखेको छ ।

लक्ष्मी बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०२ प्रतिशतले घटेर एक दशमलव २९ प्रतिशत कायम भएको छ । यो अवधिमा चार करोड ३८ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १९ करोड छ लाख रुपैयाँ राखेको छ । हिमालयन बैंकको निष्कृय कर्जा एक दशमलव ३२ प्रतिशत रहेको छ । यो अवधिमा २७ करोड २२ लाख २४ हजार रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २८ करोड छ लाख १७ हजार रुपैयाँ राखेको छ । 

प्राइम कमर्सियल बैंकको खराब कर्जा एक दशमलव ४३ प्रतिशत रहेको छ । यो अवधिमा १३ करोड नौ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २६ करोड ८३ लाख रुपैयाँ राखेको छ । नेपाल बंगलादेश बैंकको निष्कृय कर्जा एक दशमलव ४७ प्रतिशत रहेको छ । छ महिनामा चार करोड १० लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा २० करोड ७५ लाख रुपैयाँ राखेको छ । सिद्धार्थ बैंकको निष्कृय कर्जा एक दशमलव ५० प्रतिशत रहेको छ । 

त्यस्तै, ग्लोबल आईएमई बैंकको निष्कृय कर्जा एक दशमलव ६१ प्रतिशत रहेको छ । बैंकले पुस मसान्तसम्ममा २३ करोड ३० लाख रुपैयाँ खराब कर्जा असुल गरेको जनाएको छ । कुमारी बैंकको बैंकको निष्कृय कर्जा पनि एक दशमलव ६१ प्रतिशत रहेको छ । यो अवधिमा ३७ करोड ८६ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा २४ करोड रुपैयाँ राखेको छ । सनराइज बैंकको खराबकर्जा एक दशमलव ६५ प्रतिशत रहेको छ । २३ करोड २० लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २३ करोड ६४ लाख रुपैयाँ राखेको छ ।

बैंक अफ काठमाण्डूको निष्कृय कर्जा एक दशमलव ८६ प्रतिशत रहेको छ । बैंकले छ करोड ८६ लाख रुपैयाँ खराबकर्जा उठाएको छ  भने प्रोभिजनमा २३ करोड ५९ लाख रुपैयाँ राखेको छ । सिटिजन्स बैंकको निष्कृय कर्जा एक दशमलव ९४ प्रतिशत  रहेको छ । यो अवधिमा १४ करोड २६ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १३ करोड ६५ लाख रुपैयाँ राखेको छ । 

पुस मसान्तमा जनता बैंकको निष्कृय कर्जा दुई दशमलव ६५ प्रतिशत  रहेको छ । यो अवधिमा १९ करोड दुई लाख २७ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ४१ करोड २२ लाख ३७ हजार रुपैयाँ राखेको छ । 

सरकारी बैंकमा खराब कर्जा धेरै
सरकारी स्वामित्वका तीन वटै बैंकको खराब कर्जा तीन प्रतिशतभन्दा माथि रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको निष्कृय कर्जा तीन दशमलव ११ प्रतिशत रहेको छ । यो अवधिमा ४० करोड ८७ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले संभावित जोखिमवापत ८८ करोड ९५ लाख रुपैयाँ राखेको छ । सरकारी स्वामित्वकै नेपाल बैंकको  खराब  कर्जा तीन दशमलव २३ प्रतिशत रहेको छ । छ महिनाको अवधिमा २३ करोड रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २३ करोड रुपैयाँ राखेको छ । त्यस्तै, कृषि विकास बैंकको खराब कर्जा तीन दशमलव ९५ प्रतिशत रहेको छ । ९६ करोड तीन लाख ५९  हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा एक अर्ब ११ करोड ९० लाख ८२ हजार रुपैयाँ राखेको छ । 

तीन बैंकको खराब कर्जा सबैभन्दा धेरै
सिभिल बैंकको निष्कृय कर्जा ४.५२ प्रतिशत रहेको छ । यो अवधिमा २६ करोड रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ३९ करोड ८७ लाख नौ हजार रुपैयाँ राखेको छ । प्रभु बैंकको निष्कृय कर्जा शुन्य दशमलव ७६ प्रतिशतले घटेर चार दशमलव १२ प्रतिशत कायम भएको छ । यो अवधिमा ५१ करोड २४ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकको प्रोभिजनमा २४ करोड ५० लाख ९० हजार रुपैयाँ नेगेटिभमा रहेको छ । त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको निष्कृय कर्जा चार दशमलव ०४ प्रतिशत रहेको छ । ३४ करोड रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा १४ करोड ९२ लाख रुपैयाँ राखेको छ । 

खराब कर्जा के हो ? कसरी सिर्जना हुन्छ ?
बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपिएल (नन पर्फमिङ लोन – non performing loan) अर्थात खराब कर्जा भनिन्छ । निश्चित समयभित्र भुक्तान गर्ने गरी कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई निश्चित रकम उपलब्ध गराउँछ । यद्यपि, कहिलेकाहीँ ऋणीले निर्धा्रित समयमा ऋण चुक्ता नगर्ने अवस्था आउँछ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराबकर्जा अन्तर्गत राखिन्छ । सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । (सम्बन्धित बैंकहरुद्धारा प्रकाशित चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणमा आधारित)

Ad