मिलन विश्वकर्मा । चालू आर्थिक वर्ष (आव)को पुस महीनामा जीवन बीमा कम्पनीको बीमाशुल्क वृद्धिदर ८ दशमलव ३८ प्रतिशतले खुम्चिएको छ । बीमा समितिले प्रकाशन गरेको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । कात्तिकको तुलनामा मङ्सिरमा २६ दशमलव १७ प्रतिशत बढी बीमाशुल्क आर्जन गरेका जीवन बीमा कम्पनीले पुसमा सो वृद्धिदर कायम गर्न सकेनन् ।
तथ्याङ्कअनुसार पुसमा बीमाशुल्क वृद्धिदर ८ दशमलव ३८ प्रतिशतले खुम्चिएर १७ दशमलव ७९ प्रतिशतमा सीमित भएको छ । वृद्धिदर सुस्ताए पनि कुल बीमाशुल्क आर्जनमा वृद्धि भएको बीमा समितिले बताएको छ । व्यावसायिक विषयमा समयअनुसार घटबढ हुनसक्ने बीमा समितिको भनाइ छ ।
बीमाशुल्क आर्जन र वृद्धिदर (रू.लाखमा)
तथ्याङ्कअनुसार पुसमा जीवन बीमा कम्पनीले २० अर्ब १७ करोड २४ लाख ६५ हजार बीमाशुल्क आर्जन गरेका छन् । उक्त रकम वैदेशिक रोजगार बीमा र अन्य जीवन बीमाबाट प्राप्त भएको हो । तथ्याङ्कअनुसार वैदेशिक रोजगार बीमाबाट १ अर्ब ४० करोड ३५ लाख ३७ हजार र अन्य जीवन बीमाबाट १८ अर्ब ७६ करोड ८९ लाख २८ हजार रकम प्राप्त भएको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, पुसमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी ७ अर्ब २२ करोड ५१ लाख ७४ हजार बीमाशुल्क आर्जन गरेको छ । सबैभन्दा कम सानिमा लाइफ इन्स्योरेन्सले १६ लाख ३२ हजार बीमाशुल्क उठाएकोे तथ्याङ्कमा उल्लेख छ ।
मानिसलाई कुनै पनि बेला हुन सक्ने भवितव्य घटनामा पैसाको अभाव नहोस् भनेर जीवन बीमा गर्ने गरिन्छ । करार गर्दाको सम्झौताअनुसार बीमितले तोकिए अनुसारको बीमाशुल्क सम्बन्धित कम्पनीलाई बुझाउनुपर्ने हुन्छ । यदि तोकिएको समयावधिभित्र निजको मृत्यु भएमा निजको हकवालाले कुनै खास रकम पाउनेछ । यदि तोकिएको अवधिभित्र निजको मृत्यु भएन भने स्वयम् बीमितले नै उक्त रकम प्राप्त गर्न सक्नेछ । हाल नेपालमा १८ जीवन कम्पनीले यो सेवा दिँदै आएका छन् । आर्थिक अभियानमा प्रकाशित समाचार




