नेपालको पहिलो बैँक नेपाल बैंकले हकप्रद शेयर वितरण गरेर यसै वर्ष चुक्ता पुँजी ८ अर्ब पुर्याउने भएको छ । बुधवार ५६ औं साधारण सभाका लागि एजेण्डा सार्वजनिक गर्दै बैँकले सय कित्ता बराबर २३.७४ कित्ता सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकसँग अहिले ६ अर्व ४६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएकोमा हकप्रदबाट १ अर्ब ५७ करोड रुपैयाँ पुँजी जुटाउने जनाएको छ । साथै, बैँकले मर्जर, एक्वीजीशन, टेकओभर तथा रणनीतिक साझेदार थप्नका लागि सञ्चालक समितिमा अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत साधरण सभामा ल्याएको छ । सरकारको ६२ प्रतिशत र सर्वसाधरणको ३८ प्रतिशत शेयर हिस्सा भएको बैँकले यस अघि पनि बैंकले हकप्रदबाट पुँजी बढाएको थियो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा बढाएर १ अर्व ६४ करोड रुपैयाँ पुर्याएको छ । गतवर्षको सोही अवधिमा बैंकको नाफा जम्मा ३६ करोड रुपैयाँ थियो । त्यस्तै, बैंकको ऋणात्मक रिजर्भ ९४ करोड रुपैयाँका झरेको छ । बैंकले रिजर्भलाई सुधार गर्न नेपाल इन्स्योरेन्स कम्पनी, होटल हायात, राष्ट्रिय बीमा कम्पनी तथा नागरिक लगानी कोषमा भएको आफ्नो शेयर लगानी विक्रि गर्न लागेको छ । जसमध्ये नेपाल इन्स्योरेन्स र हायात होटलको सेयर विक्रिका लागि बोलपत्र आव्हान समेत भैसकेको छ ।