बैंकिङ खबर । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ करोड ८३ लाख १५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ३२.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । हाल प्राइम लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ६१ करोड रुपैयाँ रहेको छ ।
नियामक बीमा समितिको निर्देशनबमोजिम चुक्तापुँजी बढाउनका लागि प्राइम लाइफले १६० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रक्रिया पनि अघि बढाइसकेको छ । उ कम्पनीको गत भदौ २७ गते सम्पन्न साधारणसभाले १६० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । उक्त हकप्रदले समेत पाउने गरी बोनस सेयर वितरण गर्न लागेको कम्पनीले जनाएको छ । हकप्रद निष्कासन पश्चातको चुक्तापूँजीमा बोनस प्रदान गर्ने हुँदा लगानीकर्ताले १२.५ प्रतिशतका दरले बोनस पाउने कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीले कर प्रयोजनका लागि आवश्यक रकम नगद लाभांस वितरण गर्ने बताएको छ । नगद लाभांसको रकम भने खुलाएको छैन ।


