बैंकिङ खबर । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँगाउँमा अभिमुखीकरण तालिम संचालन गर्न थालिएको छ । कार्यक्रममार्फत स्वास्थ्य बीमा किन गर्ने ? यसको उद्देश्य के हो ? स्वास्थ्य बीमा गर्दा केके फाइदा हुन्छ ? स्वास्थ्य बीमाबाट कस्तो किसिमको विरामीले उपचार गर्न पाउने र कस्तो विरामीले नपाउने ? लगायतका विषयमा जानकारी गराउँदै आइएको छ ।
हालै पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा स्वास्थ्य बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । नगरपालिकामो प्रत्येक वडामा सम्पन्न कार्यक्रमपछि अब स्वास्थ्य शिक्षा स्वयमसेवकले घरघरमा पुगेर बीमा गराउने तयारी गरिरहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कतिपय गाउँमा जनप्रतिनिधिहरुलाई नै अभिमुखीकरण तालिम दिइएको छ । जनप्रतिनिधिहरु सर्वसाधारणसँग प्रत्यक्ष रुपमा जोडिएका हुने भएकाले जनप्रतिनिधिहरुसँग सहकार्य गरेर अघि बढ्न लागिएको हो । जसअन्तर्गत नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा बिकास समितिले स्थानीय तहमा गएर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सम्पुर्ण जनप्रतिनिधिहरूलाई स्वास्थ्य बीमाको अवस्था र यसका फाईदाहरूको बारेमा जानकारी दिइरहेको छ ।
नेपाल सरकारले गरिब तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य उपचारलाई सरल तथा सहज बनाउन २०७३ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको थियो । सरकारले संचालन गरेको २५ सय रुपैयाँको स्वास्थ्य बीमा गर्दा ५० हजार रुपैयाँसम्मको उपचार हुने व्यवस्था रहेको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४२५ रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।



