बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले नेपालमा बैंकिङ प्रविधिले फड्को मारेको बताएका छन् । मिडिया इन्टरनेशनलले आयोजना गरेको बैंकिङ एक्स्पोको बैंकिङ प्रविधि विशेष अन्तरक्रियामा बोल्दै डेपुटी गभर्नर सिवाकोटीले हिजो ढड्डाबाट शुरु भएको बैंकिङ सेवाले अहिले थुप्रै नयाँ प्रविधि भित्र्याएर बैंकिङ सेवा थप सरल र सहज भएको बताएका हुन् ।
‘हिजो एउटा ऋणिको नाम पत्ता लगाउन १ घण्टा ढड्डामा खोज्नु पर्यो’ अन्तरक्रिया कार्यक्रममा सिवाकोटीले भने– ‘नयाँ अत्याधुनिक बैंकिङ प्रविधिका कारण अहिले घरमै बसेर सुविधा लिन सकिन्छ ।’ पछिल्लो समय भित्रिएका प्रविधिले सर्वसाधारणलाई सुविधाका साथै खर्च समेत कम भएका कारण अर्थतन्त्रलाई नै मद्दत पुगेको डेपुटी गभर्नर सिवाकोटीको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले प्रविधिकै कारण चेक क्लियरिङ १० मिनटमै हुने गरेको बताए । मुलुकमा भित्रिएको प्रविधिका कारण नै घण्टौ लाइन लागेर चेक साट्नु पर्ने बाध्यता हटेको उनले बताए ।
त्यस्तै, प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामाले प्रविधिको प्रयोगले कारोबारमा सहजता ल्याउनुका साथै सुरक्षित पनि हुने बताइन् । मुलुकलाई डिजिटल फाइनान्स तथा क्यासलेश ट्रान्ज्याक्सनतर्फ लैजान इकमर्स, इवलेट, बैंकिङ कार्ड जस्ता प्रविधिहरुको प्रयोगमा जोड दिनुपर्ने उनको भनाई थियो । प्रविधिको विकाससँगै विकृतिहरु पनि भित्रिएको भन्दै लामाले प्रविधिको प्रयोग गर्दा सावधानी अपनाउनु जरुरी रहेको बताइन् । उनले भनिन्, ‘बैंकिङ ठगीका कुराहरु आइरहेका छन् । त्यसैले, आफूले मोबाइल वलेट प्रयोग गरेको संस्था राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त भएनभएको विषयमा विचार पुर्याउनुपर्छ ।’
बैंकर्स एसोसिएसनका कार्यकारी सदस्य एवम् प्रभु बैंकका सीईओ अशोक शेरचनले बैंकिङ प्रविधिको बारेमा प्रचार प्रसार भइरहेको र विस्तारै यसका प्रयोगकर्ताहरु बढ्दै गएको जानकारी गराए । प्रविधिको विकास र विस्तारका लागि नेपालमा पर्याप्त पूर्वाधारहरु बनिनसकेको र शून्यदेखि नै यसको सुरुवात गर्नुपर्ने भएकाले बैंकिङ प्रविधिको प्रयोग र पहुँच विस्तारमा केही समय लागेको उनले बताए । हालसम्म एटिएम कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका थुप्रै बैंकिङ प्रविधिहरु प्रयोगमा आइसकेको जानकारी दिँदै शेरचनले आगामी दिनमा बैंकिङ प्रविधिका अन्य विभिन्न प्रोडक्टहरु बैंकहरुले प्रयोगमा ल्याउने बताए । अब प्रयोगमा आउने प्रविधिहरु सुरक्षाका हिसाबले अझ बलियो हुने उनको भनाई थियो ।