बैंकिङ खबर । बैंक वित्तसम्बन्धी सूचना मेलाको रुपमा मिडिया इन्टरनेशनलले काठमाडौँको भृकुटीमण्डपमा दुई दिने बैंकिङ एक्स्पो संचालन गरेको छ । एक्स्पोले विशेष गरी मेनेजमेन्ट अध्ययन गरेका वा गरिरहेका विद्यार्थी वर्ग, गरिरहेको व्यवसाय बढाउन चाहने उद्यमीहरु, रकमको अभावमा उद्यम सुरु गर्न नसकिरहेका जुझारु युवा र स्वदेशमै केही गर्छु भनेर अवसर खोजिरहेका व्यक्तिहरुलाई लक्षित गरेको संयोजक माधव निर्दोषले जानकारी दिए ।
नेपालका बैंक बीमाले दिने सेवा सुविधाबारे एकै ठाउँबाट जानकारी
काठमाडौँमा दोस्रोपटक आयोजना गर्न लागिएको बैंकिङ एक्स्पोमा यसपटक ५० को हाराहारीमा सूचनामूलक स्टलहरु रहेका छन् । एक्स्पोमा बैंक, बीमा, रेमिट्यान्स, मर्चेन्ट बैंक लगायतले आआफ्नो सूचनामूलक स्टलहरु संचालन गरेका छन् । साथमा बीमा समिति, युवा स्वरोजगार कोष, ब्रोकर एसोसिएसन लगायत विभिन्न वित्तीय संघसंस्थाहरुले पनि आफ्नो स्टल राखेका छन् । सम्बन्धित संस्थाको स्टलमा गएर अवलोकनकर्ताहरुले उक्त संस्थाको सेवा सुविधाको बारेमा जानकारी लिन सक्नेछन् । बैंक, बीमा, रेमिट्यान्स कम्पनी, सेयर बजार लगायतका बारेमा अत्यावश्यकीय जानकारी दिने एक्स्पोको उद्देश्य रहेको छ ।
वित्तीय चेतना अभिवृद्धि
एक्स्पोमा दुई दिनसम्म बैंक, बीमा, सेयर बजार एवम् उद्यमशीलता विषयमा विषयगत विज्ञहरु सम्मिलित गोष्ठी समेत संचालन हुनेछ । यसपालीको एक्स्पोमा सेयर बजार र बैंकिङ प्रविधिलाई फोकस गरेर गोष्ठी संचालन गरिनेछ । उक्त गोष्ठीमा सम्बन्धित विषयका विज्ञहरुद्धारा अत्यावश्यकीय जानकारी दिइनेछ भने सहभागीहरुको जिज्ञासाहरुको सम्बोधन पनि गरिनेछ । बैंक बीमाहरुले काम के हो ? यसबाट कसरी फाइदा लिने भन्ने कुराको जानकारी बैंकिङ एक्स्पोमा पाइनेछ । नेपाल राष्ट्र बैंकले केकस्ता सेवा दिन्छ ? धितोपत्र बोर्डले केके काम गर्छ ? युवा स्वरोजगार कोषबाट विनाधितो कर्जा कसरी पाउने ? बैंकले के आधारमा कर्जा दिन्छ ? कुन बैंकमा पैसा राख्दा कति व्याज आउँछ ? कस्तो प्रकारको बैंकले दिने सेवा सुविधा कस्तो हो ? लगायत थुप्रै अत्यावश्यकीय जानकारीहरु प्रदान गर्ने उद्देश्य बैंकिङ एक्स्पोले लिएको छ ।
उद्यमी बन्ने आइडिया
नेपालमा मेनेजमेन्ट अध्ययन गरेका थुप्रै युवाहरु बेरोजगार बसिरहेका छन् । उनीहरु नेपालमा केही गर्न नसकिने भन्दै विदेशीने सोच बनाइरहेका छन् । यस्ता युवालाई नेपालमै पनि उद्यम गरेर राम्रो व्यवसायी बन्ने वातावरण छ भन्ने विश्वास बैंकिङ एक्स्पोले दिलाउनेछ । मेनेजमेन्ट पढेर आफैँ उद्यम सुरु गर्ने सोचिरहेका युवाहरुका लागि पनि उद्यम सुरु गर्ने, लागत जुटाउने, व्यवसाय बढाउने लगायतका आइडियाहरु बैंकिङ एक्स्पोले प्रदान गर्नेछ । बैंक, लघुवित्त वा युवा स्वरोजगार कोषले दिने कर्जाको सदुपयोग गरेर व्यवसायी कसरी बन्ने भन्ने कुराको ज्ञान दिने बैंकिङ एक्स्पोको उद्देश्य छ ।
बैंकिङ करिअर बनाउन सहयोग
स्वरोजगार बन्नका लागि मात्र नभएर बैंकिङ क्षेत्रमा जागीर खाने सोच बनाएकाहरुलाई पनि बैंकिङ एक्स्पोले मद्दत पुर्याउने उद्देश्य लिएको छ । अहिले मेनेजमेन्ट नै अध्ययन गरिरहेका विद्यार्थीहरुमा पनि वित्तीय चेतनाको कमी पाइएको छ । यसकारण, उनीहरुले धेरै कोसिस गर्दा पनि बैंकमा जागीरलेको रुपमा प्रवेश गर्न सकेका छैनन् । बैंकिङ एक्स्पोले उक्त तथ्यलाई मध्यनजर गर्दै बैंकमा जागीर गर्नका लागि जान्नैपर्ने अत्यावश्यकीय बैंकिङ नलेज प्रदान गर्नेछ ।
नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र माइक्रोफाइनान्स बैंकर्स संघसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले उक्त सूचना मेलाको आयोजना गरेको छ ।