Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साताभरका महत्वपूर्ण बैंकिङ खबरहरु (नौ बुँदामा)

२०७४ माघ १३ गते

बैंकिङ खबर । यो सातादेखि आफूलाई पायक पर्ने जुनसुकै बैंकबाट पनि आफ्नो खाता रहेको बैंकमा पैसा जम्मा गर्न सकिने भएको छ । मंगलबारदेखि सीआस्वा लागू हुने भनिएकोमा धितोपत्र बोर्डले एक महिनापछि मात्रै लागू गर्न निर्देशन दिएको छ । शाखा विस्तारमा बैंकहरुले बढी ध्यान दिएका छन् । सबै स्थानीय तहमा बैंक पुर्याउने योजनाबमोजिम बैंकहरुले धमाधम दुर्गम भेगहरुमा शाखा विस्तार गरिरहेका छन् । समग्रमा यो साता भएका प्रमुख बैंकिङ खबरहरु यहाँ प्रस्तुत गरिन्छ :

जुनसुकै बैंकबाट आफ्नो खातामा पैसा जम्मा गर्न सकिने
नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई यो व्यवस्था लागू गर्न निर्देशन दिएको छ । आइतबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दे अन्तर बैंक भुक्तानी प्रणाली मार्फत आफूलाई पायक पर्ने जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्न सकिने व्यवस्था गर्न निर्देशन दियो । हाल सञ्चालनमा रहेको अन्तर बैंक भुक्तानी प्रणाली मार्फत नै ग्राहकहरुले जुनसुकै बैंकमा जम्मा गरेको रकम आफ्नो खाता रहेको बैंकमा पुग्नेछ । राष्ट्र बैंकले गएको मौद्रिक नीतिमा यस्तो व्यवस्था गर्ने उल्लेख गरेको थियो । सोही व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्रमार्फत निर्देशन दिएको हो ।

सीआस्वा एक महिनापछि अनिवार्य
यो साताको मंगलबारदेखि सीआस्वा अनिवार्य गरेको भन्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सूचना जारी गर्यो । नेपाल धितोपत्र बोर्डले भने सीआस्वा (केन्द्रिकृत) प्रणालीलाई एक महिनापछि मात्र अनिवार्य गर्न सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दियो । बैंक तथा वित्तीय संस्थाले सीआस्वा लागु गर्नका लागि समय मागेपछि बोर्डले एक महिना म्याद थप गरेको हो । आस्वा संचालन गरिरहेका तर सीआस्वाको सदस्यता नलिएका बैंकका शाखाहरुलाई सिआस्वा प्रणालीमा आवद्ध हुन, पूर्वाधार तयार गरी गराई प्रणाली संचालन सम्बन्धी तालिम लिन केही समय दिनुपर्ने बोर्डको भनाई छ ।

नोट छपाईका लागि छ कम्पनी छनौट
नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाईका लागि ग्लोबल टेण्डर मार्फत ६ वटा कम्पनी छनौट गरेको छ । राष्ट्र बैंकले गत असोजमा ग्लोबल टेण्डर आवहान गरेको थियो । छनौटमा पर्नेमा गिसेक डेरिभेन्ट करेन्सी टेक्नोलोजी जीएमबीएच जर्मनी, चाइना बैंक नोट प्रिटिङ एन्ड माइनिङ कर्पोरेशन, डेला रुइ इन्टरनेसनल लिमिटेड वेलायत, बुण्डुड्रोकी जीएमबीएच जर्मनी, ओवरर्थर फिन्डुसाइरे फ्रान्स र पेरुम पर्सेटेकन युङ रिपब्लिक इन्डोनेशिया रहेका छन् ।

५४ करोडको हकप्रद खुला
विहीबार (माघ ११ गतेदेखि) ५४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर खुल्यो । लुम्बिनी विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंकले उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गरेका हुन् । दुई बैंकको सेयर फागुन १६ गतेसम्म खुला रहनेछ ।

सिद्धार्थ बैंकका १० शाखा विस्तार
सिद्धार्थ बैंकले एक साताभित्रमा बैंकिङ पहुँच नपुगेका १० स्थानमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्यायो । बैंकले विहीबार (माघ ११गते) संखुवासभाको मकालु गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, सिन्धुलीको गोलन्जर गाउँपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, बाजुराको बुढीगंगा नगरपालिका र पर्साको बहुदुरमाई नगरपालिकामा एकै साथ ६ वटा शाखा र माघ ७ गते (आइतबार) सुनसरीको गढि गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहिको मर्चवारी गाउँपालिका र तनहुको देवघाट गाउँपालिकामा एकै साथ चार वटा शाखा स्थापना गरेको हो ।

गुल्मीको शान्तिपूरमा पहिलोपटक पुग्यो बैंक
प्रभु बैंक लिमिटेडले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ३ स्थित शान्तीपुर बजारमा नयाँ शाखा संचालनमा ल्यायो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले एक समारोहकाविच बैंकको शान्तीपुर शाखा कार्यालयको उद्घाटन गरे । हालसम्म कुनै पनि वाणिज्य बैंकको उपस्थिति नरहेको चन्द्रकोट गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको शान्तीपुरमा प्रभु बैंक लिमिटेडले पहिलो पटक शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । आइतबार (माघ ७ गते)देखि सञ्चालनमा आएको यस शान्तीपुर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विप्रेषण सेवा तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ । साथै, देशभर शाखा सञ्जाल रहेको प्रभु बैंकको उपस्थितिले समग्र चन्द्रकोट गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सनराइज बैंकका तीन शाखा विस्तार
सनराइज बैंक लिमिटेडले आईतबार आफ्नो तीनवटा नयाँ शाखा बिस्तार गर्यो । बैंकले पर्साको बिन्दबासिनी, ताप्लेजुङ्गको मौवाखोला र बाँकेको नरैनापुरमा एक समारोहका बीच नयाँ शाखाहरुको उद्घाटन गरेको हो । यो समेत गरी बैंकको शाखा संख्या ७५ वटा पुगेको छ । साथसाथै बैंकको नेपाल अधिराज्य भर ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालन गर्ने बैंकले जनाएको छ ।

ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ पारित
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा माघ १० गते कम्पनीको रजिष्टर्ड कार्यालय पोखरामा सम्पन्न भयो । कम्पनीका अध्यक्ष पशुपति मुरारकाको सभापतित्वमा सम्पन्न साभारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने रु. ६६ करोड बराबरको साधारण सेयर जारी गर्ने विशेष प्रस्तावसहित सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको छ ।

अन्य,

  • राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सव बुधबार सम्पन्न भयो । 
  • बैंक अफ काठमाण्डू लि.ले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले ७६ औं शाखा कार्यालय गल्छी र ७७ औं शाखा कार्यालय मिर्चैयाको औपचारिक उद्घाटन गर्यो ।
  • एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक अस्पताल नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सहित अस्पतालको बिभिन्न सेवा तथा सुबिधाहरुमा दश प्रतिशतसम्मको  छुट प्रदान गर्ने व्यबस्था गर्यो ।
  • हिमालयन बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई एक करोड प्रदान रुपैयाँ गर्यो ।
  • सनराइज बैंक लिमिटेडले “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत बीमा रकम भुक्तान गर्यो ।
  • एनआईसी एशिया बैंकले मेचिनगर नगरपालिका वडा नं. १०, झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, झापा स्थित धुलाबारी शाखाको औपचारिक उद्घाटन गर्यो ।
  • आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गर्यो ।
  • मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक दिने वित्तीय साक्षरता कार्यक्रम संचालन गर्यो ।
Ad