कृष्ण रिजाल / नेपालमा लघुवित्त कम्पनीहरूबाट ऋण लिनेको संख्या एक वर्षको अवधिमा पौने तीन लाखले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असोजसम्ममा लघुवित्तबाट ऋण लिनेको संख्या १६ लाख ३४ हजार पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २ लाख ७४ हजारले बढी हो । ०७३ असोज सम्ममा लघुवित्त कम्पनीमा ऋणीको संख्या १३ लाख ६० हजार रहेको थियो ।
लघुवित्त कम्पनीको बजार तथा कारोबार बढ्दै जाँदा ऋणीको संख्यासमेत वृद्धि भएको हो । ऋणीको संख्या तथा ऋणको आकार वृद्धिले सर्वसाधारणको वित्तीय पहुँच बढ्दै गएको देखाएको नेपाल लघुवित्त बैंकर्स एसोसिएसनका अध्यक्ष रामचन्द्र जोशीले बताए । नेपालमा हाल ५४ ओटा लघुवित्त कम्पनी रहेका छन् ।
यी लघुवित्त कम्पनीमा कुल समूह संख्या ४ लाख ७१ हजार पुगेका छन् । यसमध्ये झन्डै ५ हजार समूह निष्क्रिय भएका छन् । त्यस्तै, लघुवित्तको सदस्य संख्या २४ लाख ३२ हजार जना पुगेका छन् । यसमध्ये ३७ हजार सदस्य निष्क्रिय देखिएको राष्ट्र बैंकले जनाएको छ ।
साढे ५ खर्ब कर्जा वितरण
समीक्षा अवधिसम्ममा लघुवित्त कम्पनीहरूले ५ खर्ब ५० अर्ब कर्जा वितरण गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे एक खर्बले बढी हो । ०७३ असोजसम्म लघुवित्त कम्पनीहरूले ४ खर्ब ३ अर्ब रुपैयाँ कर्जा वितरण गरेका थिए । समीक्षा अवधिमा वितरण गरिएमध्ये लघु व्यवसाय कर्जातर्फ ३ खर्ब ९७ अर्ब, लघु उद्यम/धितो कर्जातर्फ ३६ अर्ब ४३ करोड रुपैयाँ र अन्य कर्जातर्फ १ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ ।
साढे १ अर्ब ऋणको भाखा नाघ्यो
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनासम्म लघुवित्त कम्पनीले दिएको १ अर्ब ४७ करोड रुपैयाँ बराबरको कर्जाको भाखा नाघेको छ । कुल ५२ हजार १ सय जनाले लिएको यस्तो कर्जाको भाखा नाघिसकेको हो ।
पछिल्लो एक वर्षमा भाखा नाघेको ऋणीको संख्या करिब ८ हजार जनाले र भाखा नाघेको ऋणको आकार करिब ६५ करोड रुपैयाँले बढेको हो । लघुवित्त कम्पनीहरूको ऋणी, व्यवसाय तथा क्षेत्र विस्तारसँगै भाखा नघाउने ऋणी र त्यस्तो ऋणको आकारमा सामान्य वृद्धि भएको जोशी बताउँछन् ।
बचत सवा ३७ अर्ब
समीक्षा अवधिमा लघुवित्त कम्पनीहरूको कुल बचत ३७ अर्ब २८ करोड रुपैयाँ रहेको छ । यसमध्ये अनिवार्य बचत १० अर्ब ५५ करोड, स्वैच्छिक बचत १२ अर्ब ८८ करोड र अन्य बचत १२ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्त कम्पनीले सर्वसाधारणबाट १ अर्ब ७९ करोड रुपैयाँ बचत संकलन गरेका छन् । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार




