May 10th, 2016

पनामा पेपर्समा महतो र चौधरीसहित सात नेपालीको नाम

panamapapersविश्वका धनी र शक्तिशाली व्यक्तिहरुको पोल खोलेको पानामा पेपर्समा रहेका सात नेपालीको नाम सार्वजनिक भएको छ । ट्याक्स हेभन भनिने ब्रिटिस भर्जिन आइल्याण्ड, पानामा लगायतका देशमा छायाँ कम्पनीमार्फत गरेको लगानीबारे खुलासा गर्ने पनामा पेपरको पूर्ण दस्ताबेज सोमबार आईसीजेसीले सार्वजनिक गरेको हो । सो दस्तावेजमा उपेन्द्र महतो र अरुण चौधरीसहित सात नेपालीको नाम छ । नवाङ डोल्मा, उमादेवी सिंहानिया, करणकुमार चौधरी, सुर्वशकुमार चौधरी र सिला चौधरीको नाम सोि दस्तावेजमा रहेका खुलासा भएको छ । 

उपेन्द्र महतो
नेपालको सिराहा ठेगाना देखाएका उपेन्द्र महतो ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई कम्पनीका सेयर होल्डर देखिएका छन् । २६ जुन २००८ मा दर्ता भएको स्पार्टली भेन्चर्स लिमिटेड २०११ को मे १६ मा निस्क्रिय भएको छ । दुबईमा रहेको यस कम्पनिका स्टायटसमा एजेन्ट परिवर्तन गरिएको भनिएको छ । महतो सेयरहोल्डर भएको अर्को कम्पनी पन्कुर फाइनान्सेज लिमिटेड पनि सोही मितिमा दर्ता भएर सोही मितिमा निस्क्रिय र एजेन्ट परिवर्तन स्टायटस देखिएको कम्पनी हो भने यो पनि दुबईमा नै रहेको छ । 

अरुणकुमार चौधरी, शीला चौधरी, करणकुमार चौधरी र सुर्वशकुमार चौधरी
चौधरी ग्रुपका एमडी अरुणकुमार चौधरी उर्साइन लिमिटेडका सेयर होल्डरको रुपमा रहेका छन् । ब्रिटिस भर्जिन आइल्यान्डसमा २४ जुन २००४ मा दर्ता भएको र २७ जुलाई २०१२ मा निस्क्रिय भएको यो कम्पनी बेलायतमा रहेको देखाइएको छ । चौधरीले आफ्नो ठेगानामा भने दक्षिण अफ्रिकाको राखेका छन् ।
दस्तावेजमा भएका अरु तीन चौधरीहरु शीला चौधरी, करणकुमार चौधरी र सुर्वशकुमार चौधरी पनि यही उर्साइन लिमिटेड कै सेयरहोल्डरहरु हुन् । शीला भारतको उर्साइन डेभलपर्स प्रालिका डाइरेक्टर समेत हुन् ।

नवाङ डोल्मा
कर्पोरेट जगतमा खासै नाम नकमाएकी नवाङ डोल्माको रजिस्टर्ड ठेगाना ब्राजिलको छ । उनी ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई सेल कम्पनीहर गोल्डेन सिम्बल इन्टरनेसनल लिमिटेड र फिक्स युनियन होल्डिङ्ग्स लिमिटेडकी सेयरहोल्डर रहेको पाइएको छ । दुवै कम्पनीको लिङ्क हङकङसित जोडिएको छ ।  

उमादेवी सिंहानिया
यिनको नाम पनि कर्पोरेट जगतमा खासै सुनिएको छैन । ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता भएको स्प्रिङ फल्स लिमिटेड कम्पनीका सेयरहोल्डरको रुपमा उनको नाम रहेको छ ।  

सतीशलाल आचार्य
मलेसियाको कम्पनी एक्जियटासँग मिलेर एनसेलको २० प्रतिशत स्थानीय साझेदारको सेयर खरिद गरेका भावना सिंह श्रेष्ठका पति सतीशलाल आचार्यको नाम पनि सिंगापुर अन्तर्गत रहेको भेटिएको छ । आचार्यको नाम पनामा पेपर्समा नभई अफसोर लिक्सको डाटामा रहेको छ ।