January 23rd, 2018

धितोपत्र बोर्डद्वारा केवाइसीमा कडाइ

नेपाल धितोपत्र बोर्डले ग्राहकको विवरण (केवाइसी) परिमार्जित गरेर थप कडाइ गरेको छ । अब धितोपत्र दलाल व्यवसायीहरूले बोर्डले परिमार्जन गरेबमोजिम सम्पूर्ण ग्राहकको विवरणमा परिवारका सदस्यहरूको विवरण, पेसागत विवरण, बसोवास गर्ने स्थानको नक्सा, इन्भेस्टमेन्ट कम्पनीको संलग्न भए नभएको जानकारी, धितोपत्र खरिदका लागि प्रयोग भएको रकम सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानुनविपरीत आर्जन नगरेको उद्घोषण गरेलगायतका कागजात पेस गर्नुपर्नेछ ।


बोर्डले धितोपत्रको कारोबार प्रक्रियालाई थप व्यवस्थित तथा पारदर्शी बनाउन यस्तो निर्देशन दिएको जनाएको छ । नयाँ व्यवस्थाले धितोपत्र दलाल व्यवसायीहरूलाई समेत सहज हुने तथा धितोपत्र कारोबारमा हुने जोखिम न्यूनीकरण हुने बोर्डको दाबी छ । हालै बोर्डले केवाइसी नराखेका केही धितोपत्र दलाल व्यवसायीहरूलाई कारबाही गरेको थियो । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार