बैंकिङ खबर । सोमबार दुई फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय प्रगति विवरण सार्वजनिक गरेका छन् । गोर्खाज फाइनान्स र मन्जुश्री फाइनान्सले आफ्नो दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेका छन् । प्रकाशित अपरिष्कृत विवरणअनुसार, गोर्खाज फाइनान्सको नाफामा गिरावट आएको छ भने मन्जुश्री फाइनान्सले मुनाफामा उल्लेख्य प्रगति हासिल गरेको छ ।
गोर्खाज फाइनान्स लिमिटेड
गोर्खाज फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ८९ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा गोर्खाज फाइनान्सले एक करोड सात लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थिये ।
८६ करोड ७९ लाख रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको जगेडाकोषमा ३४ करोड ३४ लाख रुपैयाँ रहेको छ । गोर्खाज फाइनान्सको खुद व्याज आम्दानी २४ दशमलव ९९ प्रतिशतले घटेर नौ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा दुई करोड रुपैयाँ पुगेको छ ।
फाइनान्सले पुस मसान्तसम्ममा चार अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गोर्खाज फाइनान्सको निष्कृय कर्जा तीन दशमलव ५८ प्रतिशत, जोखिमयुक्त सम्पत्ति २२ दशमलव ६५ प्रतिशत, प्रतिसेयर आम्दानी पाँच दशमलव १८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ३९ दशमलव ५७ रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ५१ प्रतिशत रहेको छ ।
मन्जुश्री फाइनान्स लिमिटेड
मन्जुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४ दशमलव ५७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मन्जश्री फाइनान्सले दुई करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
७२ करोड ४३ लाख रुपैयाँ चुक्तापुँजी रहेको फाइनान्सले जगेडाकोषमा १३ करोड ९१ लाख रुपैयाँ राखेको छ । यो अवधिमा फाइनान्सलेचार अर्ब ८३ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले तीन अर्ब १८ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
फाइनान्सको खुद व्याज आम्दानी सात करोड ४५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा तीन करोड ८९ लाख रुपैयाँ पुगेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी वार्षिक ११ रुपैयाँ ४३ पैसा, आम्दानीको अनुपात वार्षिक १२ दशमलव ४२ गुणा, प्रतिसेयर नेटवर्थ १ सय १९ रुपैयाँ २१ पैसा, तरलता अनुपात २७ दशमलव ८१ प्रतिशत, निष्कृय कर्जा २.३८ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १८.०६ प्रतिशत रहेको छ ।