बैंकिङ खबर । वाणिज्य स्तरका तीन वटा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेका छन् । सिद्धार्थ, सानिमा र सिटिजन्स बैंकले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन् । यी तीन बैंकमध्ये, सानिमा बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ भने सिटिजन्स बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा थोरै घटेको छ । हेरौँ, कुन बैंकको वित्तीय अवस्था कस्तो रहेको छ ?
सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ८२ करोड ४७ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा ३२ दशमलव ५१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सानिमाले ६२ करोड २४ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब रुपैयाँ चुक्तापुँजी भएको बैंकको जगेडा कोषमा एक अर्ब ८८ करोड ४३ लाख ६२ हजार रुपैयाँ रहेको छ । निक्षेपमा ३२.०७ प्रतिशत वृद्धि गरी ६८ अर्ब ३९ करोड ९१ लाख ८३ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ २८.९८ प्रतिशतले वृद्धि गरी ६० अर्ब ५२ लाख एक हजार ७८ हजार रुपैयाँ लगानी गरेको छ । बैंकको संचालन मुनाफा ३०.६३ प्रतिशतले बढेर एक अर्ब २४ करोड ६१ लाख ६८ हजार रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी २२.१७ प्रतिशतले बढेर एक अर्ब ३३ करोड २० लाख ४५ हजार रुपैयाँ पुगेको छ ।
सानिमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५६ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १२३ रुपैंया ५५ पैसा र मूल्य आम्दानी अनुपात १६ दशमलव ५४ गुणा रहेको छ । बैंकको खराब कर्जा ०.०३ प्रतिशत मात्रै रहेको छ ।
सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशलमव ४४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थले ७२ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
सात अर्ब पाँच करोड ६५ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडाकोषमा चार अर्ब १० करोड ४८ लाख रुपैयाँ रहेको छ । बैंकले गत बर्षको कमाईबाट प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर वितरण गर्न र १० प्रतिशत हकप्रद सेयर विक्री गर्न बाँकी रहेको छ । जसपश्चात्, बैंकको चुक्तापुँजी सजिलै आठ अर्ब नाघ्नेछ ।
निक्षेपतर्फ १४.१९ प्रतिशत बढाएर ८५ अर्ब ३१ करोड ९७ लाख ३७ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ २०.८० प्रतिशतले बढाएर ७५ अर्ब ६९ करोड ५४ लाख ७३ हजार रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी छ दशमलव ९० प्रतिशतले बढेर एक अर्ब ३९ करोड ६७ लाख ५९ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा शुन्य दशमलव ५३ प्रतिशतले घटेर ८६ करोड ६९ लाख पाँच हजार रुपैयाँ पुगेको छ ।
बैंंकको पूँजी कोष पर्याप्तता अनुपात शुन्य दशमलव ८५ प्रतिशतले बढेर १२ दशमलव ४२ प्रतिशत कायम भएको छ भने निष्कृय कर्जा १.५० प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २२ दशमलव ६४ रुपैयाँ, पीइ रेसीयो १६ दशमलव ५६ प्रतिशत, नेटवर्थ एक सय ६३ दशमलव ५१ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ५३ प्रतिशत रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ६२ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ४८ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्सले ६३ करोड १६ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब दुई करोड १९ लाख रुपैयाँ चुक्तापुँजी पुर्याइसकेको बैंकले जगेडाकोषमा एक अर्ब ९९ करोड रुपैयाँ राखेको छ । बैंकले यो अवधिमा ५८ अर्ब ४६ करोड ४९ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ३१ करोड ६१ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको संचालन मुनाफा एक अर्ब ४२ करोड १२ लाख ६५ करोड रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी ९७ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा १४ करोड २६ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १३ करोड ६५ लाख रुपैयाँ राखेको छ । बैंकको निष्कृय कर्जा एक दशमलव ९४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैंया ६६ पैसा , प्रतिसेयर नेटवर्थ एक सय २४ रुपैयाँ ८७ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य नौ सय ४० रुपैयाँ १४ पैसा, मूल्य आम्दानी अनुपात १८.२० प्रतिशत र तरलता अनुपात २२.५२ रहेको छ ।